Jagaran Nepal सोमबार, भाद्र ०७, २०७८

काठमाडौं — इजरायल रोजगारीमा जान इच्छुक आवेदकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत लिखित तथा मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको जनाएको हो। सरकारले सम्झौताअनुसार इजरायल रोजगारी सरकारबाट हाल एक हजार सुुसारे (केयरगिभर) सहायक श्रमिकको माग भएकाले वैदेशिक रोजगार निर्देशिकाले तय गरेको

प्रक्रियाबमोजिम नौ हजार ६९९ युुवाले आवेदन दिएका छन्। वैदेशिक रोजगार विभागले प्राप्त आवेदनहरूको राम्ररी अध्ययन गरिरहेको जनाएको छ। विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदक लिखित परीक्षामा सहभागी हुनेछन्।

इजरायलमा नेपालीलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ। मन्त्रालयका तर्फबाट सम्बद्ध कुनै पनि कानुनविपरीतका कार्य एवं गतिविधिमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्ण रूपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ।