Jagaran Nepal शुक्रबार, साउन २९, २०७८

काठमाडौं : आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो ।

श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

यिनै नागहरु अकिंत चित्र र डोराहरु लिएर ब्राह्मण पुरोहितहरु आ-आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बाेमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ।

प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो। नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो।

प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ। भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ। दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ। भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ। जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ। लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ। नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन्। जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ।

एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए। ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइ । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन्।

संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन्। नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन्। किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन्।

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन्। किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाईहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन्।

प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन्। यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी १२ वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो। गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन्। श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ। गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षातको शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ।