Jagaran Nepal बिहिबार, साउन २८, २०७८

काठमाडौं । प्रयेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन नागको पुजा गरी घर घरमा नाग टासिन्छ । हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ ।

नाग अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ ।

यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । यस दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।

यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँद शुरु भएको मानिन्छ ।

ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए यसै दिनमा विधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।

यो धार्मिक विधी विधान कुनै आडम्बर होइन । अन्धविश्वास होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ ।

यसैले सर्प रहेमात्र हामी मान्छे जीवित र स्वस्थ रहन सक्छौं । मान्छे मात्र होइन, चराचर जगतको सन्तुलन मिल्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो ।

कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि नागपञ्चमीको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।

नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परिक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ शुरु गरे ।

यस महायज्ञमा सिद्ध ऋषिमुनी, साधु, पण्डितहरु आमन्त्रण गरियो । उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सर्प त्यही भष्म हुन्छ । तर स्वर्गमा ईन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा ईन्द्रसहित जन्मजयसम्म आइपुग्दछन् । यो देखेर सबै छक्क पर्छन् ।

तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफी मागेपछि उनले यज्ञ स्थगन गर्छन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पले पुनर्जीवन पाउँछन् ।

भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको शैयमा फणको छातामुनि शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाएका भगवान गणेशको एक हातमा नाग छ । भगवान विष्णुको अवतारको रुपमा लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

यसरी बनाउनुस् नागको चित्र

सादा कागजमा पहिले ‘ब्र्याकेट’ ( ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा ‘ब्र्याकेट’ बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सकिन्छ ।

याे पनि पढ्नुहाेस
प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ ।

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको आज पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।
नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ । आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायत प्रसाद चढाइन्छ । यस उपलक्ष्यमा पशुपतिको वासुकी मन्दिर, धापाखेलस्थित नागदह, नक्सालस्थित नागपोखरी, कर्कोटकको बासस्थान रहेको मानिने टौदहलगायत स्थानमा मेला लाग्छ ।

नागपञ्चमी र जनैपूर्णिमा एकै दिन

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म(यज्ञोपवीत धारणसम्बन्धी प्रक्रिया), ऋषितर्पणी र रक्षाबन्धन आज श्रावण शुक्ल पञ्चमीकै दिन मनाइँदैछ । यही साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने ‘सत्कर्म रत्नावली’, ‘निर्णय सिन्धु’, ‘कृत्यबाटिका’लगायत ग्रन्थमा उल्लेख गरिएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यसअघि विसं १९६३ र ०८२ तथा २०२८ र ०४७ मा पनि नागपञ्चमीका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको धर्मशास्त्रविद् प्रा डा गौतमले जानकारी दिए । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी “जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ” भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरुपुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको प्रा डा गौतमले बताए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिने गर्छन् ।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । यसका लागि बिहबिारदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई पनि तर्पण दिइन्छ । आजको दिन सप्तर्षि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ ।

वैदिक गुरु परम्परानुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीन शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

आज बिहानै यजमान आफ्ना गुरुपुरोहितकहाँ गई यज्ञोपवीत मन्त्रने गर्छन् । आजकै दिन मन्त्रिको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनाका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।

आजका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाइन्छ । यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्छन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडाँैको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाका जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा लाग्ने मेला श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते नै लाग्ने समितिले जनाएको छ ।

“जात्रा, उत्सव, पूर्णिमा तिथि श्राद्ध र पूर्णिमाको व्रत साउन २३ गते नै गरिन्छ, यसका लागि ग्रहणमा पनि शुभ मानिन्छ”, उहाँले भन्नुभयो । यदि श्रावण शुक्ल पूर्णिमा संक्रान्तिका दिनमा परे पनि नागपञ्चमीकै दिन रक्षाबन्धन, उपाकर्म र ऋषितर्पणी पर्व मनाउनुपर्ने शास्त्रीय प्रमाण रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।