Jagaran Nepal बिहिबार, साउन २८, २०७८

काठमाडौं। र्यापर हनी सिंहमाथि घरेलु हिंसाको आरोप लगाउँदै अदालत पुगेकी पत्नी शालिनी तलवारले आफ्ना ससुरा, सासु र भाउजुमाथि पनि आरोप लगाएकी छिन् । दिल्लीको तीस हजारी कोर्टमा दायर गरिएको १२० पानाको उजुरीमा शालिनीले सासु भूपिंदर कौर, ससुरा सरबजीत सिंह र भाउजु स्नेहा सिंहमाथि पनि आरोप लगाएकी छिन् । उनले आफ्ना पतिको परिवारको तर्फबाट गरिएको अत्याचारविरुद्ध सुरक्षा आदेशसहित अन्य राहतको माग गरेकी छिन् ।

शालिनीले ससुराविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । उनका अनुसार उनका ससुरा उनको कोठामा यत्तिकै पसिरहन्थे । एक पटक उनले कपडा फेरिरहेको बेलामा ससुराले गलत तरिकाले हात लगाएका थिए । उनले हनी सिंहको कैयौं महिलासँग अवैध सम्बनध भएको आरोप लगाउँदै एक पटक अवैध शारीरिक सम्बन्धका क्रममा रंगेहात समातिएका हनी सिंहले आफूलाई रक्सीको बोतलले हिर्काएको बताएकी छिन् ।

रिपोर्टका अनुसार शालिनीले घरेलु हिंसाबाट महिलाको संरक्षण अधिनियम अन्तर्गत हनी सिंहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति मागेकी छिन् । उनले अदालतमा आफू काम गर्ने महिला नभएको र आफू आफ्नी विधवा आमामाथि बोझ बन्न नचाहेको भन्दै आफूलाई हनी सिंहले ५ लाख रुपैयाँ भाडाको घर लिएर दिनुपर्ने माग गरेकी छिन् । अदालतले हनी सिंहलाई २८ अगस्टसम्म जवाफ दिन भनेको छ ।