Jagaran Nepal बिहिबार, साउन २८, २०७८

काठमाडाैँ । मनसुन थप सक्रिय हुन थालेसँगै देशका पूर्वी क्षेत्रमा पानी पर्न थालेको छ ।अहिले प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद्ले जनाएका छन् । गएको २४ घण्टामा सुदूरपश्चिमका धेरै ठाउँमा ठूलो वर्षा भएको छ ।

बादल बिस्तारै बढिरहेकाले देशका प्रायः सबैजसो क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ । अबको एक हप्ता नै देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको छ ।यसले गर्दा बाढी पहरोको जोखिम भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

मौसमविद्ले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रानसहितको बाढीको जोखिम रहेकाले नदीनाला र खहरे खोला आसपासका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएका हुन् । आउँदो बुधवार–बिहीवारसम्म नै देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेको छ ।

अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । यसकै कारण देशका सबैजसो क्षेत्रमा पानी पर्ने छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको छ । मनसुन भित्रिएको सुरुमा नै बाढी पहिरोको घटना बढेको थियो ।सबै भन्दा धेरै बाढी पहिरोले सिन्धुपाल्चोक र मनाङमा नोक्सानी गरेको छ । नेपालमा जेठ २८ गते मनसुन भित्रिएको थियो ।