एजेन्सी । भारतीय हाँस्य कलाकार कपिल शर्मा र उनका सहयात्री कलाकार सुनिल ग्रोबरको सम्बन्धका बारेमा कहिले काँही समाचार आउने गर्छन । उनीहरु अहिले शो मा संगै छैनन् । प्रशंसकले द कपिल शर्मा शोमा गुत्थीको उनको भूमिका सायदै कहिल्यै बिर्सन सक्लान् । सुनिल ग्रोवर द कपिल शर्मा शोमा अनौठा भूमिका निभाएर दर्शकलाई हसाउने गर्दथे ।
तर अष्ट्रेलियावाट फर्कदा उनीहरुबीच विमानमै विवाद भएपछि त्यो अवस्था थप विग्रिएर अहिले शो मा उनीहरु संगै छैनन् । सुनिलले द कपिल शर्मा शो छोडिसकेका छन् । तर पनि उनीहरुको सम्बन्ध भने अचम्मको छ । यो घटनापछि यी दुईबीच कहिल्यै कुराकानी नभएको पनि होइन । दुबैको अफ द स्क्रिनमा थुप्रै पटक भेट पनि भयो र दुबैले विशेष मौकामा एक अर्कालाई शुभकामना दिन पनि जारी राखे ।
हालै बलिउड हंगामा सँगको कुराकानीमा सुनिल ग्रोवरले आफू कहिल्यै पनि कपिल शर्मासँग रिसाउन नसक्ने बताए । जब उनलाई यसबारे सोधियो तब उनले कपिल असाध्यै हँसी मजाक गर्नुपर्ने व्यक्ति भएकोले यस्तो हुनै नसक्ने बताए ।
सुनिल ग्रोवरले भने, ‘उनी यति धेरै रमाइला छन् कि उनीसँग रिसाउनै सकिँदैन ।’ कपिलको कुन कुरा तपाईंलाई सबैभन्दा धेरै मनपर्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘उनको प्रम्पटनेस ।’ कपिल शर्माको यहि विशेषताको बलिउडका कलाकारले पनि उनको तारिफ गरिसकेका छन् । कपिल शर्मा कुनै पनि स्थितीमा ठाउँको ठाउँ नै पन्चलाइन बनाएर मानिसहरुलाई हसाउने गर्छन् ।
स्मरण रहोस्, सन् २०२० मा कपिल शर्मालाई पनि सुनिलबारे सोधिएको थियो । यसबारे उनले भनेका थिए, ‘सुनिल पाजीसँग भेट भइरहन्छ । हालै हामी गुरदास मानको विवाहमा भेटेका थियौं जुन पञ्जाबमा भएको थियो । त्यसपछि हामी दिल्लीमा आयोजित एक विवाहमा भेटेका थियौं ।’
कपिलले आफूले सुनिल ग्रोवरसँग धेरैकुरा सिकेको र भविष्यमा मौका मिलेको खण्डमा आफू उनीसँग काम गर्न तयार भएको बताएका छन् ।