Jagaran Nepal मंगलबार, मंसिर १६, २०७७

काठमाडौँ । क्यान्सर रोगको जोखिम बढाउने धेरै कारकहरु छन्। त्यसमा हाम्रो जीवनशैलीसँग जोडिएका कुराहरुलाई प्रमुख मानिन्छ।

तथ्यांकहरुका अनुसार अहिले हरेक ८ जना मानिस मध्ये १ जनालाई क्यान्सर हुने सम्भावना रहेको छ। त्यस्तै हरेक ९ जना महिला मध्ये १ जनालाई क्यान्सर हुने तथ्य बाहिर आएको छ।

हामी मध्ये धेरैले सोच्ने गर्छौं क्यान्सर रोग केवल वयस्कहरुलाई मात्रै लाग्ने गर्छ । तर, अहिले विश्वमा बच्चाहरुलाई पनि यो रोग देखिन थालेको छ र यो क्रम बढ्दो छ ।

बच्चालाई पनि क्यान्सर हुन सक्छ भन्ने आम मानिसमा चेतनाको कमी र यो रोगको परिक्षणमा हुने ढिलाईको कारण रोग लागेका बच्चाको स्थिती अझै बिग्रँदै जान्छ ।

बच्चाहरुको जोर्नीहरुमा दुखाई, ज्वरो र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरुलाई थाहा नभएको जस्तो गर्नाले उनीहरुमा क्यान्सरको उपचार समयमै हुन सक्दैन र अवस्था झन जटिल बन्दै जान्छ।

बच्चामा क्यान्सरको पहिचानमा ढिलाई हुनाले उपचारमा ढिलाई हुन सक्छ र रोग निको हुने सम्भावना कम हुन्छ ।

तथ्यांकका अनुसार विभिन्न प्रकारका क्यान्सरबाट पिडितमध्ये करिब ५ प्रतिशत रोगी १८ वर्ष भन्दा कम उमेरका छन्।

बच्चाहरुलाई लाग्ने क्यान्सरका प्रकार

बच्चाहरुलाई लाग्ने क्यान्सर वयस्कलाई लाग्ने भन्दा केही हदसम्म फरक हुन्छ । यसमा सबैभन्दा महत्वपूर्ण अन्तर भनेको बच्चामा क्यान्सरको पहिचान सुरुवाती चरणमै भएमा पुर्णरुपमा ठिक हुन सक्छ ।

बच्चाहरुलाई लाग्ने क्यान्सरको केही सामान्य प्रकार निम्न छन्ः

मस्तिष्क र स्पाइनलको ट्युमर

बच्चालाई लाग्ने क्यान्सरमा यसको हिस्सा २६ प्रतिशत छ र यसको पनि विभिन्न प्रकारहरु हुन्छन् । बच्चामा अधिकांश ब्रेन ट्युमर मस्तिस्काको तल्लो भागबाट सुरु हुन्छ । जस्तो सेरिबेलम वा ब्रेन स्टेम ।

यसको लक्षणमा प्रमुख हो टाउको दुख्ने, उल्टी आउने, नजर धमिलो देखिने, चक्कर आउने, उभिन वा चीजहरुलाई थाम्नमा समस्या हुने आदी ।

न्यूरो ब्लास्टोमा

यो छिट्टै सुरु हुनछ र ठूलो हुँदै गएका भ्रूणको नर्व सेल्समा बढ्दै जान्छ । बच्चालाई हुने क्यान्सर मध्ये लगभग ६ प्रतिशतमा न्यूरो ब्लास्टोमा हुन्छ ।

यो शिशुहरु र साना बच्चाहरुमा विकसित हुन्छ । यो ट्युमर आम रुपमा पेट सुन्निएको रुपमा सुरु हुन्छ र विस्तारै हड्डी दुख्ने, ज्वरो आउने लक्षण देखापर्छ ।

ल्युकेमिया

यो बोन म्यारो र रगतको क्यान्सर हो । बच्चाको क्यान्सरमा यसको हिस्सा करीब ३० प्रतिशत छ । ल्युकेमियाको केही लक्षणहरुमा हड्डी र जोर्नी दुख्ने, थकान, कमजोरी, छाला पँहेलो हुने, रक्तश्राव हुने, ज्वरो आउने र तौल घट्ने जस्ता पर्छन् ।

तिव्र रुपमा फैलने ल्युकेमियालाई छिटो भन्दा छिटो पहिचान गरेर र उपचार गर्न महत्वपूर्ण छ । यस्तो भएन भने धेरै छिटो फैलिएर यसले ज्यानै लिन सक्छ ।

विल्म्स ट्युमर

यसलाई नेफ्रोब्लास्टोमा पनि भनिन्छ । यस प्रकारको क्यान्सर एक वा दुई मिर्गौलामा सुरु हुन्छ । यो खासगरि ६ वर्ष भन्दा कम उमेरको बच्चालाई हुने गर्छ । यो पेटमा सुन्निने वा गाँठोको रुपमा प्रकट हुन्छ । यसका अन्य लक्षणमा ज्वरो आउने, दुखाई, मतमत लाग्ने आदि समावेश छ ।

लिम्फोमा

यस प्रकारको क्यान्सर लिम्फोसाइट्स नामक प्रतिरक्षा प्रणाली कोषमा सुरु हुन्छ । यसले बोनम्यारो तथा अन्य अंगलाई पनि प्रभावित गर्छ । क्यान्सरको भएको स्थानमा निर्भर हुने यसको प्रमुख लक्षणमा तौल कम हुने, ज्वरो आउने, पसीना, थकान, गर्धन दुख्ने आदी हुन्छ ।

रेब्डोमायोसारकोमा

यो क्यान्सर टाउको, गर्धन पेट पेल्भिस हात वा खुट्टा लगायत जहाँ पनि हुन सक्छ । यसको लक्षणमा सुन्निने, दुख्ने वा दुवै एकैचोटी हुन सक्छ । बच्चामा हुने ३ प्रतिशत क्यान्सर यो श्रेणीमा पर्छ ।

रेटिनो ब्लास्टोमा

बच्चालाई हुने क्यानसरमा लगभग २ प्रतिशतलाई यस खालको क्यान्सर हुन्छ र यो बच्चाको आँखामा हुन्छ। यो ६ वर्ष भन्दा कम उमेरको बच्चामा हुने गर्छ ।

जब बच्चाको आँखामा प्रकाश पर्छ त्यतिखेर आँखाको नानी रातो देखिन्छ र यस प्रकारको क्यान्सरभएको बच्चामा आँखाको नानी सेतो वा गुलाबी हुँदै जान्छ र आँखाको एक फ्ल्यास फोटो लिएमा आँखामा एक सेतो चमक देखिन सक्छ ।

हड्डीको क्यानसर

यो क्यान्सर हड्डीबाट सुरु हुन्छ र बच्चाहरुलाई हुने क्यान्सरमा यस खालको क्यान्सर लगभग ३ प्रतिशत सम्म हुन्छ ।

जोखिमको कारण

बच्चाहरुलाई हुने क्यान्सरको कारण अज्ञात हुन्छ । त्यसमा धेरै अनुवशिंक उत्परिवर्तनको कारणले हुन्छ । यो अनियन्त्रित कोषको वृद्धि र आखिरमा क्यान्सरको कारण नै बन्छ ।

यसको कुनै एक विशेष कारकको बारेमा कुरा गर्न गाह्रो छ बच्चामा क्यान्सर हुनु भनेको एक दुर्लभ स्थिती हो । अर्को शारीरिक विकासको चरणमा कुन बच्चा कुन स्थितीबाट गुज्रिएको छ भन्ने सुनिश्चत गर्न मुस्किल छ ।

बच्चामा लगभग ५ प्रतिशत क्यान्सर अनुवंशिक उत्परिवर्तनको कारणले हुन्छ ।

यदि समयमै पहिचान गर्न सकियो भने बच्चाहरुको हुने क्यान्सरको उपचार गर्न सकिन्छ । पहिचान हुनसाथ उपचार सुरु गर्नुपर्छ । बच्चामा हुने क्यानसर एक बच्चाबाट अर्को बच्चामा सर्दैन ।

बच्चामा क्यान्सरको उपचार प्रक्रियालामो हुन सक्छ यसैले घरमा अतिरिक्त हेरविचार गर्न जरुरी छ । त्यस्तै बच्चाको क्यान्सरको उपचारलाई पूर्ण अनुशासनको साथमा पालना गर्नुपर्छ ।

यसको अतिरिक्त स्वच्छता र सन्तुलित पोषण पनि महत्वपूर्ण छ । एकपटक उपचार पुरा भएपछि बच्चा कुनै अन्य सामान्य बच्चाजस्तै हुन सक्छ र फेरि स्कूल जान र खेल्न सुरु गर्न सक्छ ।

यस्ता लक्षण देखिएमा हुनुहोस् सचेत

बच्चामा निम्न लक्षणहरु देखिएमा यसलाई गम्भिरतापूर्वक लिनुपर्छ । यी मध्ये कुनै पनि लक्षण बारम्बार देखियो भने वा लगातार यस्तो भैरहेको छ भने तुरुन्त डाक्टरसँग परामर्श गर्नुपर्छ।

-निरन्तर देखिएका लक्षणहरुको बारेमा चिकित्सा सहायता प्राप्त गर्नुहोस्।

-आँखामा सफा धब्बाहरु, दृष्टिहिनता देखिएमा विचार गर्नुहोस्।

-पेट र कोख, टाउको गर्धन, टेस्टिज ग्रन्थि आदिमा भएका गाँठोहरुलाई ख्याल गर्नुहोस्।

-ज्वरो, तौल घट्ने, खाना नरुच्ने, थकान, एकाएक चोट लाग्ने वा रक्तश्राव हुने पनि एक लक्षण हुन सक्छ।

-हड्डि, जोर्नी पिठ्ँयुमा दुखाई र सजिलै फ्याक्चर भएमा सचेत हुनुहोस्।

-बच्चाको व्यवहार, सन्तुलन र उसको चालमा परिवर्तन आएमा र टाउको दुख्ने भएमा पनि यो क्यान्सरको लक्षण हुन सक्छ।