Jagaran Nepal बिहिबार, मंसिर ०४, २०७७

काठमाडौ । क्यान्सर भन्ने वित्तिकै अहिले पनि धेरै मानिसहरु निको नहुने रोग भनेर चिन्तित हुने गर्दछन् । कसैलाई क्यान्सन लागि हालेको रहेछ भनेपनि ला….अब….भनेर जिब्रो टोक्ने गर्दछन् । यसो गर्नु भनेको अत्तालिनु हो । तर क्यान्सर लागी हाले आत्तिनु पर्दैन ।

किनकी यो क्यान्सर लाग्नै नदिन पनि सकिन्छ । जब क्यान्सर लाग्नै दिईदैन भने निको हुन्छ या हुँदैन भन्ने प्रश्नै आउँदैन । महिलाहरुलाई विषेशगरी पाठेघरको मुखको क्यान्सरले सताउने गर्दछ । यस्तो क्यान्सरलाई रोकथाम गर्न र लागिहाले पनि निको पार्न सकिन्छ । त्यसका लागि विश्वव्यापी रूपमै अघि सारिएको छ— खोप, परीक्षण (स्क्रिनिङ) र उपचार ।

यी तीन पक्षको सफल कार्यान्वयन गरे नेपालबाट पनि पाठेघरको मुखको क्यान्सर निवारण गर्न सकिने विज्ञहरूको सुझाव छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पाठेघरको मुखको (सर्भाइकल) क्यान्सर निवारण गर्ने ऐतिहासिक घोषणा गरेको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अदानोम गेब्रियससले भने, ‘क्यान्सर रोग निवारण गर्नु असम्भव सपनाजस्तो लाग्थ्यो तर त्यो सपनालाई वास्तविकतामा परिणत गर्न दृढ संकल्प लिएका छौं ।’ डब्लूएचओको विश्व सभामा १ सय ९४ मुलुकले प्रतिबद्धता जनाएका छन् ।

नेपालमा क्यान्सरबाट महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि मुख्य मानिन्छ । विश्वव्यापी रूपमा यो महिलालाई पिरोल्ने क्यान्सरमध्ये चौथो मानिन्छ। बृहत् राष्ट्रिय कार्यक्रम अन्तर्गत ३० देखि ६० वर्ष उमेरका महिलाको नियमित स्क्रिनिङ, समयमै उपचार र किशोरकिशोरीका लागि खोप जस्ता कार्यक्रमले पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युलाई रोक्न सकिने क्यान्सर रोग विशेषज्ञ बताउँछन् ।

हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्चित गर्नुपर्ने क्यान्सर रोग विशेषज्ञको भनाइ छ । ह्युमन प्यापिलोमा भाइरसको संक्रमण भएपछि विस्तारै पाठेघरको कोषिकामा परिवर्तन आउन थाल्छ । वरिष्ठ क्यान्सर रोग विशेष डा. आरती शाहका अनुसार संक्रमणपछि क्यान्सर हुन सामान्यतया सातदेखि १० वर्षसम्म लाग्ने हुँदा जाँच गरी उपचार गराउँदा क्यान्सर रोगबाट बच्न सकिन्छ ।

नेपाल निजामती अस्पतालका वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. जितेन्द्र परियार पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलो भाइरस (एचपीभी) भ्याक्सिनलाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत राख्नुपर्ने बताउँछन् । पाठेघरको मुखको क्यान्सरबाट जोगिन विकसित मुलुकमा किशोरीलाई खोप (भ्याक्सिन) दिने गरिन्छ ।

अमेरिका, अस्ट्रेलिया, बेलायतमा किशोरीलाई ह्युमन प्यापिलोमा भाइरसविरुद्धको भ्याक्सिन लगाइन्छ । अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउन्डेसनसँगको सहकार्यमा नेपाल नेटवर्क फर क्यान्सर ट्रिटमेन्ट एन्ड रिसर्च (एनएनसीटीआर) ले पहिलोपटक सन् २००८ मै नेपालमा भ्याक्सिन लगाउन सुरु गरेको थियो ।