Jagaran Nepal आइतबार, आश्विन २५, २०७७

डायनामो किभका मुख्य प्रशिक्षक मिर्सिया लुकेस्कोले क्रिस्टियानो रोनाल्डोलाई डिएगो म्याराडोनासँग तुलना गरेका छन्। त्यस्तै, युभेन्टसका नयाँ मुख्य प्रशिक्षक एन्ड्रिया पिरलो जिनेदिन जिदान र पेप गार्डियोला जत्तिकै उचाइमा पुग्न सक्ने कुरा पनि बताएका छन्।

२०२०-२१ को च्याम्पियन्स लिगमा समूह चरणको पहिलो खेलमा लुसेस्कुको टोली डायनामो किभले इटालियन महारथी युभेन्टससँग खेल्नेछ। इटालियन च्याम्पियन र ५ पटकका ब्यालुन डी’ ओर विजेताको सामना गर्न निकै डरलाग्दो हुने उनले स्वीकार गरेका छन्। ३५ वर्षीय पूर्व रियल म्याड्रिड स्टारको प्रशंसा गर्दै लुकेस्कोले रोनाल्डोलाई फुटबल लेजेण्ड डिएगो म्याराडोनासँग तुलना गरे।

“उनी म्याराडोना जस्तै छन्, जहाँ खेल्दछन् त्यो टोलीमा आफ्नो छाप छोड्दछन्,” रोमानियन प्रशिक्षकले टट्टोस्पोर्टलाई भने। “रोनाल्डोको सामना गर्नु सधैं चिन्ताजनक हुन्छ किनकि उनी सधैं गोल गर्न मन पराउँछन् र एक अद्वितीय खेलाडी हुन्।” “हामी उनलाई टक्कर दिने प्रयास गर्नेछौं तर समस्या यो छ कि युभेन्टससँग पाउलो डिबाला, अल्भारो मोराटा, डेजान कुलसेभस्की, फेडेरिको सिसे जस्ता अन्य उत्कृष्ट खेलाडीहरू पनि छन्।”

लुकेस्कोले युभेन्टसका नयाँ प्रशिक्षकको पनि खुलेर तारिफ गरे। “मलाई थाहा थियो कि पिरलो प्रशिक्षक बन्न सक्छन्- डिएगो सिमियोनी त्यस्तै; जसलाई मैले पिसामा प्रशिक्षण दिएको थिएँ,” उनले भने। “मलाई अचम्म लाग्दैन कि पिरलोले युभेन्टसबाट आफ्नो प्रशिक्षण करियर शुरू गरेका छन्। यो उसको लागि जोखिमपूर्ण विकल्प होइन। युभेन्टसले उनलाई रोजेको छ र उनलाई समर्थन गर्नेछ। म उनको लागि धेरै खुसी छु।” लुकेस्कोले भने।

लुसेस्कुले पिरलोको बारेमा थप भने: “उनी गार्डियोला र जिदान जस्तै हुन सक्छन्। एन्ड्रिया एक चैम्पियन फुटबलर थिए र एक ठूलो प्रशिक्षक बन्न सक्छन्।”