Jagaran Nepal मंगलबार, भाद्र ०९, २०७७

काठमाडौ । कोरोनाले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरुले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको गति तिब्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ् र सङ्कास्पद क्षेत्र’का व्यक्तिको स्वाब परीक्षण तिब्र पारिएको छ ।

मुख्यगरी उपत्यका नगरपालिका फोरमले त्यसको अगुवाइ गरेको छ । काठमाडौँ उपत्यकाका १६ नगरपालिका र दुई महानगर फोरममा आवद्ध छन् । फोरमको बैठकले कोरोना फैलिन नदिन वडातहमै पुगेर पहिचान र उपचारलाई तिब्रता दिने निर्णयमुताविक काम थालेको हो । समुदायमा कोरोनाको अवस्था कस्तो छ भनेर पत्ता लगाउन एकीकृत रुपमा कार्यक्रम थालेको फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो । हाल उपत्यकामा १० हजार सङ्क्रमित रहेको आशंकाका साथ नियन्त्रणको काम अघि बढाइएको छ ।

उक्त अभियानमार्फत समुदायस्तरमा कोारेना फैलिएको छ या छैन भन्ने कुरासमेत पत्ता लगाउने र समुदायमा फैलिएको अवस्था भेटिए नयाँ रणनीतिका साथ अघि बढ्ने श्रेष्ठले जानकारी दिनुभयो । प्राप्त विवरणमा आजसम्म उपत्यकमा झण्डै तीन हजार व्यक्तिमा कोभिड–१९ देखिएको छ । झण्डै एक हजार २०० उपचार पछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकालगायत केही जिल्लामा महामारीकै रुपमा कोरोना फैलिएको जानकारी दिनुभयो । आज मात्रै उपत्यकामा २३२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । त्यसमा सबैभन्दा बढी काठमाडौँ जिल्लाका १९९ छन् ।

उपत्यकामा विगतमा नगन्य कोरोना संक्रमित भएकोमा बन्दाबन्दीको अन्त्य भएपछि साउनमा अत्याधिक रुपमा सङ्क्रमित भेटिएको छ । साउन ६ गतेदेखि लागू हुने गरी सरकारले बन्दाबन्दी अन्त्य गरेको थियो । त्यसपछि बाहिरी जिल्लाबाट मानिस उपत्यका प्रवेश गर्दा सङ्क्रमण फैलिन सहयोग गरेको थियो ।

“पछिल्लो समय उपत्यकामा तिब्र गतिमा कोरोना फैलियो, अब कोारेना रोक्न सकिएन भने स्थिति जटिल बन्नसक्छ”, मध्यपुरथिमी नगरपालिकाका प्रमुखसमेत रहनुभएका फोरमका सचिव श्रेष्ठले भन्नुभयो, “फैलिँदै गरेको कोारेनाको ‘चेन ब्रेक’ गरेरै छाड्ने योजनाका साथ हामी लागेका छौँ ।” फोरमको हालैको बैठकले सङ्क्रमितसँगको कन्ट्याक ट्रेसिङ गर्ने, उनीहरुको परिवारका साथै सङ्कास्पद क्षेत्रका मानिसको समेत स्वाब सङ्कलन गरेर परीक्षण गर्ने निर्णय गरेको छ ।

अनुसन्धानमा उपत्यकामा मात्रै अहिलेसम्म यसरी परीक्षण गर्नुपर्ने झण्डै २८ हजार ५०० रहेका छन् । उनीहरुको परीक्षण गर्दा १० हजारमा कोारेना देखियो भने समुदायमा गएको पुष्टि हुन्छ । नत्र भने समुदायमा नपुगेको निष्कर्षका साथ रोक्ने आगामी रणनीति तय हुन्छ । सोहीअनुसार तथ्याङ्क सङ्कलन र विष्लेषणको आधारमा हरेक नगरपालिकाले अभियान थालेको उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार मध्यपुर थिमीले वुधबारबाट उक्त अभियान थाल्दै छ । “दुई ‘हट स्पट’ छानेका छौँ, त्यहाँको बुधबार मात्रै ५०० जनाको स्वाब सङ्कलन हुँदैछ”, श्रेष्ठले भन्नुभयो ।

काठमाडौँ मानगरापलिकाका प्रवक्ता ईश्वरमान डङ्गोल महानगरको १५ वटा वडाबाट कन्ट्याक ट्रेसिङको काम थालिसकेको बताउनुभयो । “सबैभन्दा पहिले शङ्कास्पद व्यक्तिका स्वाब सङ्कलन गरी परीक्षण नै हो त्यसपछि उनीहरुलाई राख्ने स्थान (आइसोलेशन) को व्यवस्थापन हो, त्यसमा लागेका छौँ”, डङ्गोलले भन्ुनभयो ।