Jagaran Nepal सोमबार, भाद्र ०८, २०७७

पाकिस्तानका सेनाप्रमुख जनरल कमर जावेद बाजवा साउदी अरबसँग कूटनीतिक सम्बन्ध सुधार्नका लागि सोमवार त्यहाँ पुगेको भए पनि युवराज मोहम्मद बिन सलमानले उनलाई भेट्ने अवसर नै दिएनन् ।

बिन सलमानले भेट नदिएपछि बाजवाले रक्षा राज्यमन्त्री शेख खालिद बिन सलमानसँग भेटघाटमा चित्त बुझाउनुपरेको थियो ।बाजवाले इमरान खान सरकारका तर्फबाट माफी मागेको बताइएको छ । यसअघि पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरेशीले एक बयान जारी गरेर कश्मीरका विषयमा इस्लामिक मुलुकहरूको संगठनलाई बैठक डाक्न नमानेको भनी साउदी अरबको आलोचना गरेका थिए ।

तर शेख खालिद बिन सलमानसँग मंगलवार भएको भेटघाटमा बाजवाले माफी सन्देश दिए पनि माथिल्लो तहमा त्यो नपुगेको बताइएको छ । जनरल बाजवाले साउदीको रक्षा संस्थापनसँग मात्र अन्तर्क्रिया गर्न पाए ।

त्यसो त बाजवा रक्षा अधिकारीहरूसँग भेट्न मात्र गएको भनी बताइएको थियो । तर पाकिस्तानी मन्त्री शेख रशीदले एक न्युज च्यानलसँग कुरा गर्दै सेनाप्रमुख साउदीसँगका भिन्नता साम्य पार्न गएको बताएका थिए ।

जनरल बाजवासँग भ्रमणमा आर्ईसआईका प्रमुख लेफ्टिनेन्ट जनरल फाइज हमीद पनि छन् ।उनीहरू जेद्दाहबाट दुबईतिर गएर पाकिस्तान फर्किन लागेको बताइएको छ ।

यूएईमा जनरल बाजवाले सम्बन्ध सुधार गर्नका लागि कुराकानी गर्ने अपेक्षा छ । यूएई र इजरायलबीच हालै भएको सम्झौताका विषयमा पाकिस्तानले खासै न्यानो प्रतिक्रिया जनाएन । यूएईले यसलाई मन पराएन ।

साउदी अरबसँग सम्बन्ध सुधार्ने कुरालाई चाहिँ इमरान खानले महत्त्व दिएको भारतका एक वरिष्ठ कूटनीतिज्ञले बताए । साउदी अरबलाई चिढ्याउने कुरेशीलाई हटाउन सक्ने विकल्पमा पनि इमरान खान जान सक्ने हल्ला इस्लामाबादमा चलेको छ ।साउदी अरब र यूएईसँग पाकिस्तानको सम्बन्ध चिसिँदा भारत चाहिँ खुशी भएको छ ।

पाकिस्तानले टर्की, इरान, मलेसिया लगाएतका देशहरुसँग मिलेर छुटै इस्लामिक सहयोग संगठन (ओआइसी) स्थापना गर्न सक्ने संकेत दिएपछि साउदी अरब पाकिस्तानसँग चिढिएको छ। हाल ओआइसीको नेतृत्व साउदी अरबले गर्दै आएको छ। ओआइसीका कुल सदस्य ५७ देशहरु छन् भने परमाणु ह ति यार शक्तिसम्पन्न राष्ट्र पाकिस्तान मात्र हो।