Jagaran Nepal सोमबार, भाद्र ०८, २०७७

तपाईंलाई थाहै छ, म एउटा स्वास्थ्यकर्मी भएका नाताले शुरुका दिनदेखि कोरोना संक्रमणका विषयमा विश्वमा के भइरहेको छ र नेपालमा के हुँदै छ, के हुनुपर्छ भन्ने विषयमा लेख्ने, बोल्ने र स्वास्थ्य मन्त्रालय मातहतमा रहेर काम गर्दै पनि आएको छु । तर नेपालमा लक्षण नभएकालाई परीक्षण नगर्ने भन्ने सरकारको निर्णयप्रति म सन्तुष्ट थिइनँ, किनभने नेपालमा जति पनि संक्रमित छन् अधिकांश लक्षणविनै संक्रमण देखिएका बिरामी छन् । यस्तो अवस्थामा परीक्षण नै रोक्नुभन्दा के–कस्तो गर्ने भन्ने उपाय अपनाउन सकिन्थ्यो, त्यो गर्न सकिएन ।

डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ

भारतबाट व्यापारका साथै कामका सिलसिलामा धेरै समूहमा मान्छेहरु प्रवेश गरेपछि होमक्वारेन्टिनमा बस भनियो तर यसमा बुझ्नुपर्ने कुरा उनीहरु त कमाउन आएका हुन् । काठमाडौं आएर दुई–दुई हप्ता त्यतिकै चुप लागेर बस्नेवाला थिएनन् । किनभने उनीहरुसँग पैसा भएर आएका होइनन् । यस्ता कारणले गर्दा काठमाडौंमा लकडाउन खोलेको चार हप्ताभित्र धेरै मान्छे संक्रमित हुने र मृत्यु हुने अवस्था आयो । यो हाम्रो समुदायको वरिपरिको दृश्य हो । लकडाउन खुलेसँगै कोरोनाको हटस्पटका रुपमा परिचित भारत, नेपालको सर्लाही, सप्तरी, जनकपुर, वीरगन्ज, बारा, पर्सालगायतका क्षेत्रबाट जति मान्छे आए उनीहरु प्रत्यक्षरुपमा बाटोमै परीक्षण गर्दा पनि संक्रमण भेटिने खालका थिए ।

वैैज्ञानिकहरुले गरेको अनुसन्धानले कोरोना संक्रमित भएको एक महिना अर्थात् चार हप्ताको हाराहारीदेखि मृत्यु हुनथाल्ने देखाएको छ । नेपालमा पनि लकडाउन खोलेको तीन चार हप्तापछि धेरै संक्रमित देखिँदै मृत्युको संख्यासमेत बढेको देखिन्छ । ठूला–ठूला मुलुकहरुको अनुसन्धानले लक्षण देखिएको तीन हप्तादेखि विस्तारै मानिसहरुको मृत्यु हुन्छ भनिएको छ । नेपालमा पनि जुनबेला लकडाउन खुल्यो, त्यतिबेला मान्छे हुरुरु आए र एक–अर्कामा कोरोना सारे । चार हप्ताको हाराहारीमा संक्रमण देखिएको अवस्था हो र मानिसहरु धेरै आत्तिएको अवस्था छ । संक्रमित हुनाको प्रमुख कारण धेरै मानिसले स्वास्थ्य सुरक्षा नै नअपनाई खुलेआम भीडभाड गर्नु नै हो ।

वीरगन्ज भारतबाट खाद्यान्न, इन्धनलगायतका सामान भित्रिने प्रमुख नाका भएका कारण पनि धेरै उद्योगी, व्यापारीहरुको आवत–जावत भइरह्यो । यतिसम्म कि बिहान नेपाल आउने व्यापार–व्यवसाय गर्ने, बेलुका भारत घरमा गएर बस्ने गरेको पनि उपचारका क्रममा पाइयो । यस्तै कारणले गर्दा त्यस्ता क्षेत्रमा संक्रमितको दर अत्यधिक बढ्यो । लकडाउन खुल्नेबित्तिकै कहाँबाट आएको भनेर अनिवार्यरुपमा सोध्थे त्यतिबेला बारा, पर्सा र भारतका बिरामी टेकुमा यति धेरै आउँथे कि परीक्षण गरेरै भ्याइन्नथ्यो । यसपछि निकै डरलाग्दो अवस्था सृजना भएको हो ।

लकडाउन खुकुलो हुँदा काठमाडौं आई परीक्षणमा आउनेलाई पनि यसरी नै सोध्थे । उनीहरुले अफिस खुल्यो, दुई सिफ्टमा काम हुन्छ त्यही भएर हामी आएको भन्थे । तुलनात्मकरुपमा त्यतिबेला यस्तो जोखिम थिएन । किनभने उनीहरु अफिस, घर, कोठा गर्थे । त्यसो गर्दा धेरै मानिससँग घुलमिल हुने सम्भावना कम हुन्थ्यो । लकडाउन खोलेपछि काठमाडौं त खुल्ला भयो रे भनेर जुन तरिकाले मान्छेहरु आए ती संक्रमित एरियाबाट आएका थिए । जतिबेला ती मान्छे काठमाडौं आए, बारा, पर्सामा संक्रमितको संख्या अस्पतालले थाम्नै नसक्ने भइसकेको थियो । जो काठमाडौं आए उनीहरुले त त्यो संक्रमण लिएरै आएका थिए र अरुमा पनि स¥यो र फैलियो ।

नेपालले बनाएको जनस्वास्थ्य मापदण्डको बारेमा सबै जानकार छन् तर पालना जनस्तरबाट खासै भएको पाइन्न । यिनै कारणले गर्दा कोरोना संक्रणले विकराल रुप लिँदै छ । यसरी नै बेवास्ता गरिरहने हो भने आगामी दिनमा अझ बढेर जान्छ । स्वास्थ्यको मापदण्ड पालना कसैलाई देखाउन नभई आफू, आफ्नो परिवार, समाज र देशका सम्पूर्ण नागरिकलाई स्वस्थ भएर बाँच्नका लागि गरिने हो । अझ बेवास्ता गर्दै गयो भने यो नियन्त्रणमा आउँदैन कति क्षति पु¥याउँछ कल्पनै गर्न सकिन्न ।
नेपाल समाचारपत्रबाट साभार