Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

काठमाडौं । नेपालमा थप कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको हो । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ ।

नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् । जानकारी अनुसार मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।

यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो । नेपाली सेनाको यु–द्ध कवच गण सितापाइलाका प्रमुख सेनानी देवेन्द्र खड्का नेतृत्वको टोलीले उनीहरुको लाश व्यवस्थापन गर्ने भएको छ ।

यस्तै रुपन्देही बुटवलमा पनि दुई कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले बुटवल र उपत्यकाका ४ जनाको मृत्युबारे औपचारिक जानकारी दिइसकेको छैन ।