Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

वीरगंज । कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका दुई जना थुनुवा अस्पतालवाट भागेका छन् । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयर अस्पताल गण्डक बहुअरीबाट दुई जना थुनुवा भागेका छन्। उनीहरु कोरोना संक्रमित हुन् । गए राति २ बजे दुई तल्लाबाट पछाडिको पोखरीमा हामफालेर उनीहरु भागेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित भएर अस्पतालको आइसोलेसनमा रहेका उनीहरु पोखरीमा हामफालेर भागेका हुन् । वीरगंज १६ नगवाका केशव तिवारीका छोरा वर्ष १९ का छोटु तिवारी र सर्लाही, लालबन्दी नपा ३ स्थायी घर भई हाल वीरगंज ५ रामटोलमा बस्दै आएका नन्दे मार्फीका वर्ष २० का राम माझी रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ ।

संक्रमित अस्पतालवाट भागेपछि त्यस बारेमा अस्पतालका स्वास्थ्यकर्मीहरुले स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कर्यालय पर्साले उनीहरुको घर तथा आफन्तजनको घरमा खोजी कार्य गरिरहेको जनाएको छ ।