Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

ओखलढुंगा, ७ भदौ । ओखलढुंगाका एकजना जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यक्तिगत कामका सिलसिलामा राजधानी काठमाडाैँमा रहेकी ढुंगेललाई संक्रमण पुष्टि भएको उपाध्यक्ष ढुंगेलले नै टेलिफोन मार्फत जानकारी दिईन् ।

आफूलाई सामान्य ज्वरोको लक्षण देखिएपछि गत भदौ १ गते स्वाब संकलन गरेर परीक्षणमा पठाएकोमा ३ गते कोरोना पोजेटिभ देखिएको उपाध्यक्ष ढुंगेलको भनाइ छ । अहिले उनी काठमाडाैँस्थित आफ्नै घरमा होम आइसोलेसनमा बसिरहेकी छिन् ।

आफूजस्तो सामान्य मानिसमा कोरोना देखिएको भन्दै अन्य धेरै नेपालीमा समेत परीक्षणको दायरा बढाएमा कोरोना संक्रमण पोजेटिभ देखिनेकाे संख्या बढ्न सक्ने उनको अनुभव छ ।

सामान्य ज्वरो तथा रुघा-खोकीका लक्षण देखिएका आम नगरिकहरु परीक्षणको दायराभन्दा बाहिर रहेकाले कतिले कोरोनाबारे थाहै नपाई रोग निको पारेको हुस सक्ने समेत उनको बुझाइ छ ।