Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

काठमाडौं। रुसले विश्वलाई चकित पार्दै दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको जानकारी दिएको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति पनि दिइसकेको छ । भ्याक्सिनले स्वीकृति पाएको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वकै पहिलो सफल कोरोनाभाइरस भ्याक्सिन तयार गरेको बताएका थिए । अहिले रुसले अर्को कोरोना भ्याक्सिन पनि सफल भएको जानकारी दिएको हो ।डेलीमेलको रिपोर्टअनुसार रुसले आफ्नो पहिलो भ्याक्सिनका जुन साइड इफेक्ट देखिएका थिए ती साइड इफेक्ट दोस्रो भ्याक्सिनमा नभएको पनि दावी गरेको छ ।

नयाँ भ्याक्सिन लगाउँदा त्यस्ता कुनै पनि साइड इफेक्ट नहुने रुसको दावी छ । रुसले पहिलो कोरोना भ्याक्सिनको नाम स्पुतनिक भी राखेको थियो । अहिले आएको नयाँ भ्याक्सिनको नाम इपिभ्याककोरोना राखिएको छ । इपिभ्याककोरोनाको विकास साइबेरियाको वर्ल्ड क्लास भाइरोलोजी इन्स्टिच्युट भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीमा गरिएको हो ।पहिले यो इन्स्टिच्युट अत्यन्तै गुप्त जैविक हतियार अनुसन्धान केन्द्र थियो । रुसी वैज्ञानिकका अनुसार इपिभ्याककोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुनेछ । तर, ट्रायलका क्रममा जुन ५७ स्वयंसेवकहरुलाई भ्याक्सिन लगाइएको थियो उनीहरु कसैले पनि साइड इफेक्टको सामना गर्नु परेन ।

सबै स्वयंसेवक स्वस्थ छन् र राम्रो महसुस गरिरहेका छन् ।इपिभ्याककोरोनाको २ डोज दिइनेछ । पहिलो डोजको १४ देखि २१ दिनमा दोस्रो डोज लगाइनेछ । रुसले अक्टोबरसम्म यो भ्याक्सिनले स्वीकृति पाउने अपेक्षा गरेको छ । नोभेम्बरसम्म यसको उत्पादन सुरु गरिने अपेक्षा छ । भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीले कोरोनाभाइरसका १३ सम्भावित भ्याक्सिनमा काम गरेको थियो । प्रयोगशालामा जनावरहरुमा यी भ्याक्सिनको जाँच गरिएको थियो । अहिलेसम्म चीन, अमेरिका र बेलायतको भ्याक्सिन पनि फेज ३ ट्रायलमा पुगेका छन् ।