Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २ सय ३८ परमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ ।विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ ।

युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५ ।प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ ।एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ ।ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ ।

अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम-२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करीब १८ करोड रुपियाँ) पर्छ ।यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करीब १८ अर्ब रुपियाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।

नेपालको प्रतिव्यक्ति आय संसारकै धेरै

यदि युरेनियमको उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने नेपालीहरूको प्रतिव्यक्ति आय संसारकै सबैभन्दा धेरै हुन सक्ने विज्ञ हरू बताउँछन् ।खानी तथा भूगर्भ विभागको अनुसन्धानका अनुसार नेपालका धेरै ठाउँहरुमा युरेनियम पाइने सम्भावना देखिन्छ ।

गत असारमा सरकारले रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्ने विधेयक तयार पार्यो । त्यसयता नेपालमा युरेनियमको चर्चा व्हात्तै बढेको छ ।नेपालका विभिन्न ठाउँहरूमा युरेनियम पाइने चर्चा पहिल्यैदेखि थियो तर सरकारले विधेयक नै ल्याएपछि यसको बारेमा बहस बढेको छ ।

परराष्ट्रविद तथा रुसका लागि नेपालका राजदूत रहिसकेका हिरण्यलाल श्रेष्ठले नेपालको युरेनियममा रूसको चासो रहेको हुन सक्ने सम्भावना व्यक्त गरेका थिए ।नेपालमा युरेनियम रहेको पुष्टि भएसँगै रुसमात्र नभएर अमेरिका र भारतसमेतको विशेष चासो रहेको श्रेष्ठले बताएका हुन् ।

तर नेपालमा कति छ त युरेनियम ?

खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथाङमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेको थियो । उक्त तथ्य सार्वजनिक भएसँगै नेपाली सेनाको एक टोलीले सो क्षेत्रको निगरानी गर्दै आइरहेको छ ।विज्ञहरूका अनुसार सो क्षेत्रमा ३५ टनसम्म युरेनियम हुन सक्ने बताएका छन् ।अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको मूल्य १८ करोडससम्म रहेको छ ।

मुस्ताङमा मात्र नभएर मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत युरेनियम रहेको विभागले बताएको छ ।अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फराकिलो खानी भने लोमाङथाङमा रहेको पुष्टि भएको हो ।