Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

काठमाडौँ। अभिनेता गौरव चोपडालाई मातृशोक परेको छ । उनको आमाको कोरोनाभाइरसका कारण निधन भएको हो । विगत तीन वर्षदेखि प्राणघातक रोग क्यान्सरसँग लडिरहेकी उनलाई केहि दिन अघि कोरोनाभाइरसको संक्रमण भएको थियो।अभिनेता गौरवले केहि समय अघि आफ्ना दुवै आमा र बुवालाई कोरोना संक्रमण भएको सामाजिक संजाल इन्स्टाग्राममार्फत जानकारी दिएका थिए।

सामाजिक संजाल इन्स्टाग्राममा उनले लेखे, ’ मेरी आमा विगत तीन बर्षदेखि उन्नत चरणको अग्नाशयको क्यान्सरसँग संघर्ष गर्दै हुनुहुन्थ्यो । चमत्कारी ढंगमा, उनी त्यसबाट अझ ठिक पनि हुँदै थिइन्। यद्यपि विगतका केही महिनाहरुमा उहाँको स्वास्थ्य अवस्था राम्रो थिएन र अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा मेरो बुबा उनको हेरचाह गर्दै हुनुहुन्थ्यो। तर, केहि दिनपछि आमालाई कोरोना संक्रमण भयो जसका कारण मेरो बुवाको पनि रिपोर्ट पोजिटिभ आएको छ।’

गौरव चोपडा भारतीय टेलिसिरियलका चर्चित कलाकारको नाम हो। उनले संजीवनी, उत्तरन, अघोरी, अदालत जस्ता दर्जनौँ भारतीय टेलिसिरियलमा काम गरिसकेका छन्। उनले ओस्करमा नामित हलिउड फिल्म ब्लड डायमन्डमा पनि काम गरेका छन् ।