Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि बन्द गरिएको अन्तराष्ट्रिय हवाई उडान आगामी भदौ १६ गतेबाट पुनः सुरु हुने भएका छन् ।

बिहीबार बसेको मन्त्रीपरिषद्काे क्याबिनेट बैठकबाट सरकारले पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट शर्तसहितको नियमित हवाई उडान सुरु गर्ने निर्णय भएको शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने छ ।

यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने डा. खतिवडाले बताए ।त्यस्तै, काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ ।

साथै, पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै जहाजमा आए सबैलाई क्वारेन्टाइनमा राखिने र त्यसको सबै खर्च विमानले व्यहोर्नुपर्ने जनाइएको छ ।