Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

काठमाडौँ, गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ ।

विभागका अनुसार साउन १५ (जुलाई)सम्मका अनुुमति पत्र सबै छपाइसकिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनाल भन्नुहुन्छ, “प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो । ”

छापिएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको खनालले जानकारी दिनुभयो । विभागले हालसम्म १० लाखप्रति स्मार्ट लाइसेन्स छापिसकेको छ । पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थी, कामदार, शान्ति सेनामा जानेका लागि द्रुत छपाइको सेवा दिँदै आएको थियो । जसअनुसार दुई दिनमा लाइसेन्स छापेर दिन सकिने व्यवस्था पनि थियो तर हाल सो सेवा वन्द गरिएको निर्देशक खनालले जानकारी दिनुभयो । विभागले मास प्रिन्टर प्रयोगमा ल्याएपछि छपाइको काम अघि बढेको थियो ।

धर्मकाँटा निर्माण गरिँदै

मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी ढुवानी गरेर दुर्घटनाको जोखिम बढाइरहेको भन्दै विभागले मुख्य राजमार्गमा गाडीको भार जाँच गर्न थप दुईवटा धर्मकाँटा (तौल पुल) निर्माण गरेको छ ।

महोत्तरीको गौरीबास र चिववनको आँपटारीमा निर्माण गरिएको विभागले जनाएको छ । निर्देशक तीर्थ खनाल भन्नुहुन्छ, “यस वर्ष महोत्तरी र आँपटारीमा निर्माण गरिएको छ, महोत्तरीको सम्पन्न भइसकेको छ भने चितवनको काम भइरहेको छ । ”

मालवाहक सवारीले क्षमताभन्दा बढी ढुवानी गरेर दुर्घटनाको जोखिम बढाइरहेको र सडक पनि बिगार्ने काम हँुदै आएकाले चेकजाँचलाई कडाइ गर्न निर्माण भएको विभागको दाबी छ ।