Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

के तपाईंको पाचन यन्त्रले कहिल्यै विश्राम पाएको छ ? किनभने तपाईं केही न केही खाइरहुनुहुन्छ। दिनमा तीन, चार पटक खानुहुन्छ। भोक लाग्छ, भरपेट खाइदिनुहुन्छ । हेर्दा स्वादिलो खानेकुरा भेट्नुहुन्छ, पेट चर्कनेगरी खाइदिनुहुन्छ। खानेकुरामा तपाईं पछि हट्नुहुन्न । जे पाइन्छ, खाइदिनुहुन्छ । जे आउँछ, मज्जाले पचाउँछ शैलीमा।

यद्यपी हाम्रो शरीरले सबै कुरा पचाउन सक्दैन । यसरी अपच हुने खानेकुरा शरीरबाट बाहिर निष्कासन हुन्छ । त्यसमध्ये कति विकार भने शरीरभित्रै रहन्छ । यही विकार हो, शरीरलाई रोगी बनाउने।

हामी शरीरका लागि आवश्यक खानेकुरा पनि सेवन गरिरहेका हुँदैनौं । कुन खानेकुरामा कुन किसिमको पोषक तत्व पाइन्छ, कसरी सेवन गर्दा ति पोषक तत्व प्राप्त हुन्छ, दिनमा कति पटक खानुपर्छ ? इत्यादि कुरामा त हामीलाई न चासो छ, न ज्ञान । अर्थात खानपानमा हामी त्यती सर्तक र सचेत छैनौं । यही कारण हाम्रो पाचन यन्त्र क्रमस शिथिल हुँदै जान्छ। कलोजो लगायतका अंगले सही ढंगले कार्यसंचालन गर्न छाड्छ।

पाचन यन्त्र नै कमजोर भएपछि शरीरलाई आवश्यक पोषक तत्व पुग्दैन। शरीरलाई आवश्यक पोषक तत्वको अभाव भएपछि नै हो हामीलाई रोगले जित्ने । अर्थात शरीरले रोगसँग लड्ने क्षमता गुमाउँछ । यसर्थ पाचन यन्त्रलाई चुस्त, बलियो राख्नका लागि हामीले खानपानमा केही अनुशासन पालना गर्नैपर्छ।

खानपान सम्बन्धी अनुशासनको कुरा गर्दा उपवास पनि आउँछ । सही र सन्तुलित खाना खाएर मात्र पुग्दैन, बेलाबखत पाचन यन्त्रलाई विश्राम पनि दिनुपर्छ । खाली पेट बस्नुपर्छ । यसलाई हामीले ब्रत, उपवास, फास्टिङ जे नाम दिएपनि हुन्छ । यो एक दिन, दुई दिन सम्मको हुन्छ, आफ्नो अवस्था हेरेर । शरीरको शुद्धिकरण गर्न विशेष किसिमको विधी अपनाउन सकिन्छ, खानपानलाई नियन्त्रण गरेर । यस्तो विधी अन्र्तगत भोकै बस्ने, फलफूल मात्र खाने, उसिनेको खानेकुरा मात्र खाने वा सुपाच्य भोजन मात्र गर्ने तौरतरिका अपनाइन्छ ।

अहिले साउन महिना पनि छ । साउनलाई हामी उपवासको महिना पनि भन्छौं । साउनको सोमबार कतिपय उपवास बस्ने गर्छन् । यसमा धार्मिक आस्था जोडिएको छ ।

धार्मिक आस्थाको हिसाबले होस् वा स्वास्थ्यप्रति सर्तक भएर, उपवास बस्नु फाइदाजनक छ । भरपेट खानुमा मात्र फाइदा छैन, भोको पेट बस्नुमा पनि फाइदा छ ।

हप्तामा एक दिन भोकै बस्नुको फाइदा

हप्तामा एक दिन भोकै बस्न सकिन्छ । यसका लागि हामीले यस्तो दिन छनौट गर्न सक्छौं, जुन दिन हामीले शारीरिक श्रम धेरै गर्नुपर्ने अवस्था हुँदैन । यसरी एक दिन खाली पेट बस्दा शरीरको आन्तरिक शुद्धिकरण हुन्छ । शरीरमा रहेको विषाक्त तत्व बाहिर निस्कन्छ । शरीर स्वस्थ्य हुन्छ ।

पेटको रोगबाट मुक्ति

हामी कुनै न कुनै किसिमको पेटको रोगबाट ग्रस्त छौं । खाना खान त लोभ गर्छौं, तर पेटले सहँदैन । पेट फुलिन्छ । अपच हुन्छ । धेरै खानेकुरा खाएमा पखला लाग्छ । खाना नखाएमा ग्याष्ट्रिकले सताउन थाल्छ ।

हप्तामा एकपटक भोकै बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट मुक्ती पाइन्छ ।

उच्च रक्तचाप र कोलेस्ट्रोलमा फाइदा

हप्तामा एक दिन भोको बस्दा कतिपय दीर्घ रोगमा पनि लाभ मिल्छ । खासगरी उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुग्छ । यसका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ ।

मुटुलाई फाइदा

हप्तामा एक दिन खाली पेट बस्दा मुटुको समस्यामा पनि लाभ पुग्छ । किनभने खाली पेट बस्दा कोलेस्ट्रोलको स्तर घट्छ । कोलेस्ट्रोल नै हृदय रोगको जड हो ।