Jagaran Nepal शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौँ । तीजमा धेरै महिला व्रत बस्ने गर्छन् । पहिलेजस्तो निराहर व्रत बस्ने चलन त बिस्तारै हराउँदैछ । तर पानी र फलफूल खाएर व्रत बस्दा पनि स्वास्थ्यलाई ध्यान दिनुपर्ने हुन्छ । आफ्नो स्वास्थ्यको ख्याल नगरी व्रत बस्नु भनेको रोग निम्त्याउनु हो । स्वास्थ्यलाई ध्यान दिँदै व्रत बस्दा यसले फाइदा पनि गर्छ ।

व्रत बस्दाका फाइदा

– व्रत बस्दा सबै कुरा मिलाएर बस्न सकियो भने स्वास्थ्यको लागि धेरै फाइदा गर्छ ।
– आत्मसन्तुष्टि हुन्छ । जसले जीवनलाई सार्थक रुपमा अगाडि बढाउन मद्दत गर्छ ।
– खानाको एलर्जी तथा पेट फुल्ने समस्या भएकालाई राम्रो गर्छ ।
– बढी खाएर भएको ग्याष्ट्राइटिस ठिक हुन्छ ।
– धेरै मोटो, कलेजोमा बोसो भएका, कोलेस्ट्रोल भएका र पेट ठूलो भएकाहरुलाई फाइदा हुन्छ ।
– समय समयमा व्रत बसेर कम खाने मान्छे बढी बाँच्छन् भन्ने प्रमाणित भएको छ ।

व्रत तीन प्रकारका हुन्छन्

१) केही नखाएर निराहार बस्ने व्रत
२) पानी जुस खाएर बस्ने व्रत
३) एक दिन बिराएर वा केही दिन बिराएर बस्ने व्रत

व्रत र यसले गर्ने बेफाइदा

– सुगरका नियमित औषधि खाने बिरामीले व्रत बस्दा प्रेसर लो भएर बेहोस हुने तथा ब्रेनमा असर पुग्यो भने त्यो सबैभन्दा घातक हुन्छ ।
– प्रेसरका बिरामीले बेलुका औषधि खाएर सुत्ने अनि भोलिपल्ट नुन, पानी नखाँदा चक्कर लागेर ढल्न सक्छन् ।
– थोरै तौल छ भने व्रत बस्दा पानी तथा ग्लुकोजको मात्रा कम भएर ढल्ने सम्भावना धेरै हुन्छ ।
– उमेर धेरै भैसकेकाहरुले व्रत बस्दा बेफाइदा गर्छ ।
– तीव्ररुपमा वृद्धि विकास हुने उमेरमा व्रत बस्दा असर गर्छ ।
– मिर्गौलाका बिरामीले व्रत बस्दा पानीको मात्रा कम भइ शरीरमा डिहाइड्रेसन हुन्छ र ढल्ने सम्भावना हुन्छ।
– त्यस्तै गर्भवती तथा दूध खुवाउने महिलाले पनि व्रत बस्नु हुँदैन ।