Jagaran Nepal बिहिबार, भाद्र ०४, २०७७

काठमाडौ । नेपाली नारीले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदैछन् ।

दरखाने दिनमा तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रुपमा खुवाउने चलन छ । यसपटक भने काेराेना महामारीका कारण भेला हुन राेक लगाइएकाे छ ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।

हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ भएकाे मानिन्छ ।

विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको माग गर्दै भोली पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दुघ्द्ध निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरू यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन् ।

तर हिजोआज दरको रूपमा माछा मासुलगायतका खानेकुरा पनि खाने गरेको पाइएको छ। तीजमा व्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर व्रत बस्नु शुद्ध मानिँदैन। तर खासगरि दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ । स्थान अनुसार दरखाने परिकारहरू फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ ।

खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाहरूले लिने गरेको पर्व तीज भएपनि हिजोआज अरु समुदायका महिलाहरू पनि तीज मनाउन थालेका छन् ।

हिजोआज ठाउँअनुसार तीजको दिन शारीरिक परिश्रम गर्ने चलन घटेको छ। त्यसैले प्रोटिनयुक्त खानेकुरा खाँदा शरीरलाई थप असर गर्ने कुरामा समेत ख्याल गर्नुपर्छ। तर पतिलाई राम्रो होस्, राम्रो पति पाउन भन्दै आफ्नो शरीर र मनलाई अप्ठ्यारोमा पारेर पानी पनि नखाई व्रत बस्नु राम्रो होइन। शरीरको अवस्थाअनुसार पानी, फलफूल, जुस, दूध र दही खाएर व्रत बस्न सकिन्छ।