Jagaran Nepal बिहिबार, भाद्र ०४, २०७७

काठमाण्डु, ३ भदौ– सरकारले लकडाउनभन्दा कडाई गर्ने गरी निषेधाज्ञा जारी गर्ने भएको छ ।

बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले महामारी नियन्त्रणका लागि लकडाउनभन्दा कडाई गर्ने गरी निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस मन्त्रिपरिषदसमक्ष गरेको हो । सम्भवतः बिहीबारको मन्त्रिपरिषद बैठकले समितिको सिफारिस अनुमोदन गर्नेछ ।

निषेधाज्ञाको अधिकार भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रयोग गर्नेछन् । एक मन्त्रीका अनुसार निषेधाज्ञा लकडाउनभन्दा केही माथिल्लो र कफ्र्युभन्दा एक तह तलको हुनेछ । ‘लकडाउनभन्दा कडा र कफ्र्युभन्दा केही खुकुलो हुन्छ’, सीसीएमीका सदस्यसमेत रहेका एक मन्त्रीले काठमाण्डुटुडेसँग बिहीबार राति भने । उनका अनुसार कोरोना संक्रमणको महामारी समुदायस्तरमा फैलिएकाले निषेधाज्ञा दुई ठूला पर्व दसैं र तिहारसम्म निरन्तर हुन सक्नेछ ।

हाल देशका अधिकांश स्थानमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् । उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरमा आज राति १२ बजेबाट निषेधाज्ञा लागू हुँदैछ । तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उल्लघन गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐनअनुसार पक्राउ गरी थुन्नेसम्मको कारबाही गर्ने चेतावनी दिएका छन् ।

काठमाण्डुटुडेबाट साभार

याे पनि पढ्नुहाेसः संक्रमित बढेसँगै काेराेनाबाट मृत्यु हुनेको संख्या पनि बढ्यो
काठमाण्डु, ४ भदौ– नेपालमा मंगलबार हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टाभित्र देशभरिमा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमित संख्या २८ हजार २ सय ५७ पुगेको छ । यीमध्ये १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित छन् । संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एक पुरुष र तनहुँकी एक महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

कुल संक्रमित मध्ये हालसम्म १७ हजार ५ सय ८० जना निको भइसकेका छन् । नागरिक दैनिकबाट