Jagaran Nepal बुधबार, भाद्र ०३, २०७७

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।

अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन् ।

कुशे औंलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

कुशै औंशीका दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन भने भौतिक रूपमा अस्त भइसकेका पिताहरुलार्इ छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्र लगाएयका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् ।

हरेक धर्ममा आ–आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौं, हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ, ति सपना र सम्भावनाका प्रदायक, जीवनश्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुवाहरुलाई स्मृती ।

बुवाको मुख हेर्ने दिनलाई कुशे औंसी, पित्री तीरपानी औंसी र गोकर्ण औंसी पनि भनिन्छ । बुवालाई मिठो खानेकुरा खुवाएर र उपहार दिएर यो दिन मनाइन्छ । बुवाको मुख हेर्ने दिन बुवाले गरेका त्याग, समर्पण र मायालाई विशेष रुपमा सम्झिने अवसर हो ।

जन्मदेखि सन्तानको लालनपालन तथा उज्वल भविष्यको लागि बुवाले धेरे संघर्ष गरेका हुन्छन् । आफ्नो छोराछोरीको खुसीका लागि एउटा बाबुले यति धेरै संघर्ष गरिरहेका हुन्छन्, एक दिन मुख हेरेर त्यसको क्षतिपूर्ति हुनसक्दैन ।

कसरी मनाइन्छ कुशे औंसी ?

बुवा नभएका व्यक्तिहरुले आफ्नो बुवाको सम्झनामा पण्डितलाई सिदा, लुगा वा आफू खुशी दान दिने गर्छन्।

यो दिनमा प्राय काठमाडौँमा रहनेहरु आफ्नो स्वर्गिय पिताको यादमा गोकर्ण पुगेर श्राद्ध र पिन्ड दान गर्छन् । गोकर्ण पुग्न नसक्ने मानिसहरु भने पिताको नाममा घरमै र नजिकैको धार्मिक स्थलमा श्राद्ध गर्ने गर्छन् ।

सो दिनमा स्वर्गीय पिता छोराछोरीले दिएको दान लिनका लागि गोकर्ण आउँछन् भन्ने आम विश्वास छ । पण्डितले दान, उपहार र भेटी स्वीकारे भने ती सबै स्वर्गीय पितासम्म पुग्ने मान्यता छ।

विभिन्न भाषा र संस्कृतिमा छरिएर रहेका नेपालीहरुल आआफ्नै कला संस्कृति र रितीरिवाज अनुसार बुबाको मुख हेर्ने गरेका छन् । कसैले बिहान केही नखाइकन बुवालाई ढोगेर मिठो खानेकुरा खुवाएर बुबाको मुख हेर्छन् भने कतिपयले बेलुका मनाउने गर्छन् । प्राय नेवार समुदायले कुशे औंसी बेलुका मनाउने गर्छन् ।

मिठो खाना, नँया लुगा, रमाइलो गर्ने सम्पुर्ण ठाउँ र संस्कुति अनुसार फरक पर्नेगर्छ ।

विवाहित छोरीहरु कुशे औंसीको दिन आफ्नो बुवाको लागि मिठो परिकार बनाएर, फलफुल, उपहार र सगुन लिएर बुवाको घर जाने गर्छन् । अविवाहित छोरीहरु भने घरमै स्वादिष्ट खाना बनाई बुबालाई खुसी पार्ने प्रयास गर्छन् । बुवासगैं आमालाई पनि मिठाई र उपहार दिएर यो दिनमा रमाईलो गर्ने चलन अहिले सामान्य भएको छ । बुवाको मुख हर्ने दिन बुवालाई मात्र सम्मान र आदर गर्ने आमालाई नगर्ने भन्ने हुँदैन ।

हिन्दु ग्रन्थ अनुसार कुश भन्नाले धार्मिक घाँस बुझिन्छ । औंसीको दिनमा कुश घरमा ल्याउने चलन रहेको छ र यस दिनलाई कुशे औंसी भनिन्छ । श्रीमद भागवत गीता, विष्णु पुराण, अर्थवेद र गरुढ पुराणमा कुशको महत्वको बारेमा लेखिएको छ ।

संस्कृतमा कुशको महत्व यसरी राखिएको छ ।
स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौं सदर्भों कुर्वीत तथा सन्ध्याभिवादने

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् ।