Jagaran Nepal बुधबार, भाद्र ०३, २०७७

ज्योतिष शास्त्रमा फल बताउने हजारौं माध्यमहरू छन् । तीमध्ये व्यक्तिको न्वारनको नाम अर्थात् जन्मराशिका आधारमा बताइने फल निकै महत्वपूर्ण मानिन्छ । राशिको निर्धारण पनि पाश्चात्य मतअनुसार एक महिनासम्म एउटै राशि मान्ने चलन छ भने हिन्दू ज्योतिषले चन्द्रमाको आधारमा लगभग अढाइ दिनको एक राशि मानेको छ।

राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन् । सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ । यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०–३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यो राशी भनेर जानिन्छ। यी राशीहरू हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। हेर्नुहोस् भदौ महिनाको मासिक राशिफल ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका लागि यो महिना केही संघर्षपूर्ण देखिएको छ । यसका बाबजुत पनि यो महिना लाभ र उपलब्धि दिने खालको छ । खर्च बढ्ने तथा मालसमान हराउने वा बिग्रने र बढी चाहना गरिएको काममा बाधा अबरोध आउने संभावना छ । सामान्य दैनन्दिनी कामकार्यहरूबाट भने केही उपलब्धि मिल्ने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशि हुने व्यक्तिका लागि केही उपलब्धि भएपनि केयरफुल हुनपर्ने खालको समय छ । अधिकांश कामकार्य प्रभावित हुने गोचर ग्रहले लक्षण देखाएको छ । स्वजनमा रोगशोक पर्ने, मानसिक तनाव व्यहोर्न पर्ने र बाहनादिबाट क्षतिखति हुनेछ भय देखिएको छ । कानूनि समस्या नआउला भन्नसकिन्न । प्रतिकूल गोचर फलको बाबजुत कर्मयोगीहरूको लागि तत्कालै उपलब्धि नमिले पनि भविष्यमा सफल हुने उद्यमकार्य सम्पादन गर्नसकिने छ । थोरै उपलब्धिको लागि बढी मेहनत गर्नुपर्ने छ ।

मिथुन (का.कि.कु.घ.ङ.छ.के.को.ह)
मिथुन राशिका लागि यो महिना सामान्य खालको देखिन्छ । व्यवहारिकतालाई ध्यानमा राखेर अघि बढेमा केही महत्वपूर्ण कामकार्य गर्न सकिनेछ । शारीरिक जोस जाँगर बढेर आउने छ । स्वास्थ्यमा सुधार हुनेछ । बीचमै अड्किएका केही कामलाई फत्ते गर्नसकिने छ । कैफियत कार्य एवं आम्दानी तर्फको चेष्टाले भने पछि पछुताउन पार्नेछ ख्याल गर्नुहोला । कामकार्यमा भाँजो हाल्ने गलत नियतका व्यक्तिबाट भने बच्न जान्नु पर्ला ।

कर्कट (हि.हु.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिको लागि यो महिना धैर्य एवं संयम अप्नाउन पर्ने खालको रहेको छ । भौतिक सुख भएपनि आत्मीय तथा मानसिक शान्ति भङ्ग भइ विभिन्न खालका कष्टकर फल प्राप्त हुनसक्ने छ । शत्रु बृद्धि भई विभिन्नखालका समस्याहरू दिनसक्ने छन्, स्वजन तथा बन्धुवर्गबाट पनि विश्वासघात व्यहोर्न नपर्ला भन्नसकिन्न ।

सिंह (म.मि.मु.मे.मो.ट.टि.टु.टे)

सञ्चित धन खर्च हुने र आयले आर्थिक गर्जो टार्न मुस्किल परे पनि साथसहयोग जुट्नाले समस्या सुल्झाउन सकिने छ । आकस्मिक रूपमा यात्रा गर्न पर्नेछ । वासस्थान तथा घरडेरासँग सम्बन्धित समस्या आईपर्ने र स्थान परिवर्तन हुनसक्ने छ । विशेष गरी महादशा, अन्तर्दशा एवं योगिनीदशामा प्रतिकूल दशा चल्ने व्यक्तिको हकमा खाइपाई आएको सेवासुविधा तथा पदप्रतिष्ठाबाट च्युत भइने भय पनि छ ।

कन्या (टो.प.पी.पु.ष.ण.ठ.पे.पो)
कन्या राशिका लागि यो महिना त्यति भौतिक सुख एवं सन्तोषकर देखिएको छैन । चौतर्फीरूपमा ग्रहगोचरले असर बढाएको देखिन्छ । बढी मेहनतले मात्रै केही उपलब्धि प्राप्त गर्न सकिएला । खर्च गर्नपर्ने बाध्यता सृजना हुनगइ सञ्चित धनको व्यय हुनेछ । कैफियतयुक्त साथसंगति र कुकर्मप्रति मन जानसक्ने भय छ । महादशा, अन्तर्दशा र यागिनीदशामा प्रतिकूल दशा चल्नेहरूलाई धनको हानी, ज्वरो, पित्तविकार, चोटपटक, पेट तथा आँखा सम्बन्धि रोग, मुत्रकृच्छ (पिसाब पोल्ने), मित्र एवं दाम्पत्य कष्ट आदिलाई गोचर ग्रहले लक्षित गरिरहेको छ ।

तुला (रा.री.रु.रे.रो.त.ति.तु.ते)
तुला राशि हुनेहरूको लागि यो महिना विभिन्न प्रकारका लाभ, मान यश किर्ती समृद्धि, प्रगति, पदप्रतिष्ठा प्राप्ति गराउने खालको रहेको छ । मुद्धामामिला आदिमा विजय प्राप्ति हुनेछ भने रोगबाट छुटकारा मिल्ने छ । मनमा उत्साह, कर्मक्षेत्रमा उन्नति, मनोवाञ्छित कार्यमा सफलता प्रगति हुनेछ । मानसम्मान, पदोन्नती, दाम्पत्य सुख सन्तुष्टि, हितैशी मित्रसँग मिलाप, वाहन सुख, चौपाया आदिबाट लाभ हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.य.यी.यु)
बृश्चिक राशिको लागि यो महिना मध्यम अनुकूल रहने छ । ग्रह उपचारको उपाय अवलम्बन र अल्लि बढी परिश्रम गर्नाले विशेष महत्त्वपूर्ण कामकार्यमा सफलता मिल्ने छ । रोजगारीको अवसर प्राप्त हुनेछ । पेशागत प्रतिष्ठा बढ्ने छ । राजनीति, सांगठानिक एवं सामाजिक भूमिका बढेर जाने छ । उद्योग धन्दा फस्टाउने छ । लौकिक वचस्व स्थापित हुनेछ । विपक्षि उपर विजय प्राप्त गर्नसकिने छ । न्यायिक सफलता मिल्ने छ ।

धनु (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे)
धनु राशिको लागि यो महिना त्यति सकारात्मक देखिएको छैन । कामकार्यमा सावधानी अप्नाउन जरुरी पर्नेछ । पेशा तथा व्यवसायिक कर्मथलोमा विभिन्न खालका बाधाब्यावधान आउने छन् । सामान्य कामकार्यमा पनि अधिक परिश्रमले आंशिक सफलता र उपलब्धि मिल्ने छ । आस्थामा ह्रास आउनसक्ने ग्रहगोचरको योग छ ।

मकर (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी)
मकर राशिको लागि यो महिना खासै अनुकूल देखिएको छैन । रपनि हिम्मत नगिराउने र स्वकर्मबाट विचलित नहुने गर्नु बुद्धिमानी हुनेछ । यस्तो अवस्थामा मन चञ्चल गराउने तथा अनावश्यक विषयमा सरोकार राख्ने गर्नु उचित हुने छैन । शत्रु सल्बलाउने छन्, आफन्तीबाटै विश्वासघात पर्नसक्ने र कतिपय व्यवहारमा आरोप्रत्यारोपको सामना गर्नुपर्ने छ । व्यापार व्यवसायमा कठिनाईको सामना गर्नपर्नसक्ने छ ।

कुम्भ (गु.गे.गो.स.सी.सु.से.सो.द)
कुम्भ राशि हुने व्यक्तिहरूको लागि यो महिना आंशिक अनुकूल देखिएको छ । व्यापार बिजनेश, उद्यम व्यवसाय आदिमा प्रगति हुनेछ । बुद्धिवर्धक आहारमा जोड गर्नाले विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्ने छ । कर्मक्षेत्रमा सफलता मिल्नेछ । शारीरिक प्रतिस्पर्धाजन्य कार्यमा विजयी भइने छ । रपनि विरोधीको घेरामा परिनसक्ने भय छ भने पारिवारिक लगायतका विभिन्न समस्याहरू पनि थपिने छन् ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
मीन राशि हुनेहरूको लागि यो महिना केही संघर्ष एवं बाधाअड्चनको बाबजुत आंशिक अनुकूल मान्नसकिन्छ । अल्पकालीन केही अधुरा कामकार्यहरूलाई पूर्णता दिन सकिने छ । मेहनत र परिश्रमले केही विशेष कार्यलाई अघि बढाउन पनि सकिने देखिएको छ । केही अनुकूलता हुँदाहुँदै पनि व्यक्तित्त्व एवं कर्मक्षेत्रको प्रतिष्ठा बचाउन निकै व्यवहारिकता र संयमको जरुरी हुनेछ । शारीरिक फुर्ति बढेर आउने छ । पुरुषार्थ गर्नसकिने छ ।