Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

बुटवलका पत्रकार डायलशन अधिकारीको निधन भएको एक वर्ष पूरा भएको छ। तिलोत्तमा नगरपालिकाले गतवर्षको असोजमा आयोजना गरेको लगानी सम्मेलनको प्रचारप्रसारको लागि साउनको अन्तिम साता पूर्वी जिल्लामा गएका थिए।

सोही क्रममा सप्तरीको कञ्चनरूप नगरपालिका ११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको निधन भएको थियो। रेडियो नेपालका बुटवल संवाददाता, रेडियो नमस्तेका स्टेशन म्यानेजर र लगअन अनलाईनका सञ्चालक रहेका अधिकारीको निधन भएको साउन ३२ मा १ वर्ष पूरा भएको छ।

उनको निधनपछि विक्षिप्त बनेकी उनकी श्रीमती चन्दा भुसाल अधिकारीले एकवर्षपछि श्रीमानसँगका सम्झना सामाजिक सञ्जाल फेसबुकमा श्यर गरेकी छिन्।

स्वर्गीय डायलसन अधिकारीकी श्रीमती चन्दा भुसाल अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा श्यर गरेको सामग्री जस्ताको तस्तै।

आज श्रावण ३२ गते यो अध्यारो दिन म कसरी भुल्न सकुँला र आजको यो दिनलाई । म र मेरा छोराछोरीको खुशी लुटेर लागेको दिन। यो दिन मेरा लागि सधैं अध्यारो दिन बनेर आउनेछ ।
बुढो हामीलाई झुक्याएर हामी माझबाट यो संसार छोडेर जानुभएको पनि आज एक वर्ष भयो । यति छिटो यसरी झुक्याएर जानुहुन्छ भन्ने लागेको थिएन ।

शुक्रबार राति फोन गरेर भन्नुभएको थियो-राम्रो सँग बस्नु म पर्सी आईतबार बिहान खाना खाने बेलासम्म नभए दिउसोसम्म आइपुग्छु । आउन त त्यही समयमा आउनुभयो-तर सदाको लागि हामीलाई छोडेर जानेगरी। यति छिटो हामीलाई झुक्याएर जान कसरी सक्नुभयो । बल्ल त हामीले सपना देख्न सुरु गरेका थियौं । ती सपना हरु पूरा नगरी कसरी जान सक्नुभयो ।

हें दैब त पनि कति निष्ठुरी रहेछस् । हाम्रो थोरै खुशी पनि देख्न चाहेनस् हैं । हामी दुई बीचको सहयात्रामा धेरै संघर्ष र चुनौतीहरूलाई पार गर्दै अगाडि बढेका थियौं । जब थोरै भए पनि खुशीको क्षण आएको थियो तैंले यो के यस्तो गराइदिस् ।

सोचेकी थिए अब त हाम्रा दुःखका दिन गए तर तैंले त सदाका लागि दुःखी बनाइदिइस् । हामीहरूले कसको के नराम्रो सोचेका थियौं र हामीलाई यति ठूलो सजाय दिएको ।
बुढो हजुरले त भन्नुहुन्थ्यो-एक न एक दिन त हाम्रा पनि दिन आउँछन् हरेस खानु हुँदैन । जब म निरास हुन्थे भन्ने गर्नुहुन्थ्यो हामीलाई के नराम्रो भएको छ र, हामीले दुःखसुख गरेर हाम्रा छोरा छोरीलाई राम्रो शिक्षा दिएका छौ उनीहरूले राम्रो गरेको देख्न पाए अरु हामीलाई के चाहियो र ।

तर हजुर त छोराछोरीलाई राम्रो बनाउन नपाई यति छिटो यि छोराछोरीलाई छोडेर कसरी जान सक्नु भयो । सधैं भन्ने गर्नुहुन्थ्यो कहिले निरास हुनु हुदैन । काम सानो होस् या ठूलो गर्न छोड्नु हुँदैन । मिहिनेत गर्यो भने एक दिन त अवश्य सफल भइन्छ भन्दै भन्नुहुन्थ्यो तर हजुरले त बीचमै अधुरो सपना छोडेर हामीलाई एक्लो बनाएर जानुभयो ।

सधैं आफ्नो काम कर्तव्यमा इमान्दारीपूर्वक निरन्तर लागि रहनुभयो। कहिल्यै अरूको कुभलो चिताउनु भएन सधैं सबैलाई राम्रो गर्दै हिँड्नुभयो आफूले गर्न सक्ने सहयोग सबैलाई गर्दै हिँड्नुभयो र आफूले गरेको परिश्रमले गर्दा हरेक क्षेत्रबाट सम्मानित पनि हुँदै जानुभएको थियो र त्यो क्षण आउँदा हामी पनि धेरै खुशी हुन्थ्यौं र हजुर आफू पनि धेरैनै खुशी हुनुहुन्थ्यो र भन्ने गर्नुहुन्थ्यो ढिलै भए पनि मैले इमान्दारी पूर्वक गरेको परिश्रमको मूल्यांकन भयो भन्दै छोराछोरीलाई भन्ने गर्नुहन्थ्यो हेर बाबुनानी तिमीहरूले धेरै पढ्नु पर्छ। ज्ञानी हुनुपर्छ र पछि राम्रो मान्छे भन्नु पर्छ ।

सफलता त्यसै प्राप्त हुँदैन त्यसका लागि त धेरै मिहिनेत गर्नुपर्छ । तिमीहरूले राम्रो सँग पढ्नु अरु त तिमीहरूको लागि मम्मीले र मैले दुःख गरिहाल्छौ नी भन्नुहुन्थ्यो ।

हजुरले सधैं छोराछोरीलाई भन्ने गर्नुहुन्थ्यो मैले जति दुःख पाए पनि मैले राम्रो सँग पढ्न नपाए पनि मैले दुःख गरेर तिमीहरूलाई पढाउँछु बस् तिमीहरूले राम्रो सँग पढ मात्र।

हजुरको इच्छा नै छोराछोरीले राम्रो सँग पढेर राम्रो मान्छे बनाउन पाए भन्ने मात्र थियो र हाम्रो जिन्दगी पनि दुःख सुख गरेर राम्रै सँग चलिरहेको थियो ।

हाम्रो उद्देश्य पैसा कमाउने भन्दा पनि छोराछोरीलाई राम्रो बनाउने तिर थियो तर दैव तैंले त के गरिदिईस यस्तो जसलाई आफ्नो छोराछोरीले राम्रो गरेको हेर्ने इच्छा थियो उसैलाई नै लगिदिइस् है।
भगवान् ले पनि सधैं राम्रै मान्छेलाई नै छिटै खोज्दा रहेछन् । हामी कति अभागी रहेछौ जसले हामीलाई माया गर्थ्यो उसैलाई छिटै गुमाउनु पर्ने ।

आमालाई पनि छिटै नै गुमायौं र अहिले हजुरलाई झन् छिटै । दुःख पर्दा होस् वा खुशीको क्षण मा सधैं आमालाई सम्झिनुहुन्थ्यो र भन्ने गर्नुहुन्थ्यो दुःख पर्दा भन्ने गर्नुहुन्थ्यो आज आमा भइदिएको भए हामीलाई कति सहज हुने थियो होला ।

खुशीको क्षणमा भन्ने गर्नुहुन्थ्यो आज आमा भइदिएको भए कति खुशी हुनुहुन्थ्यो हाेला भन्दै सायद त्यसैले होला आमाले पनि हजुरलाई छिटै नै बोलाउनुभयो । आमाले सधैं भन्ने गर्नुहुन्थ्यो नानी मैले धेरै दुःख पीडा सहे यो त मेरो आसु पुछ्न रहेको छोरो हो ।

सायद अहिले पनि दुःख पाएर नै होला हजुरलाई छिटै बोलाउनु भयो । हो मलाई थाहा छ अब म जति चिच्याए, जति बिलौना गरे पनि हजुरलाई पाउन सक्दैन ।

त्यसैले मैले चित्त बुझाएर बस्नु सिवाय अरु केही उपाय छैन । हजुरले हाम्रो छोराछोरीको ठूलो जिम्मेवारी छोडेर जानु भएको छ त्यो जिम्मेवारी जति दुःख सहेर पनि पुरा गर्नेछु ।

अब त हाम्रा छोराछोरी पनि धेरै बुझ्ने भइसकेका छन् । मलाई सम्झाउँदै भनेका थिए मम्मी पिर नमान्नु हामी बाँच्न सक्छौ ड्याडी आफू नरहेता पनि हामीलाई यति धेरै जनाको साथमा छोडेर जानुभएको छ हामी एक्लो छैनौँ मम्मी हेर्नु त हाम्रो साथमा कति धेरै जना हुनुहुन्छ।

पक्कै पनि उहाँहरुको साथ र मायाले गर्दा हामीहरूले कहिलै पनि दुःख पाउने छैनौ भन्दै सम्झाएका थिए उल्टो उनीहरूलाई मैले सम्झाउने ठाउँमा ।

हुन पनि हो सबै जनाको साथ र मायाले गर्दा आज हामी पुनः बाँच्न सक्ने अवस्थामा आएका छौँ त्यो सबैको देन नै हजुर हुनुन्थ्यो । सबैको मनमा प्रिय भएर बस्नुभएको रहेछ र आज हामीले सबैको साथ र माया पाएका छौ ।

बुढो हजुरको स्वर्गमा बास होस् हजुरको आत्माले शान्ति पाओस् । हामीहरूलाई आशीर्वाद दिई राख्नुहोला । हजुरले दिएको आशीर्वादले नै हाम्रा यी छोराछोरीलाई हजुरले सोचे अनुसारको बनाउँन सक्नेछु र हजुरको सपना पूरा गरिदिन सक्नेछु ।
लुम्बिनी टाइम्सबाट साभार