Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

काठमाडौ । नेपालका लागि आज अत्यन्तै दु:खद दिन बनेको छ । राष्ट्रका गहन राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । घिमिरेको मृत्युको कारण भने खुलेको छैन ।

नेपाली साहित्यकाशका उज्ज्वल नक्षत्र घिमिरे १०२ वर्षका थिए । लमजुङको पुस्तुन बाँहुनडाडाँडामा जन्मिएका घिमिरेले कैयन गीत, कविता र काव्यको रचना गरेका थिए ।

यस्ताे छ माधव घिमिरेको जीवनीगत व्यक्तित्व

माधव घिमिरे महाकवि लक्ष्मीप्रसाद देवकोटा पछिका सर्वाधिक ख्यातिप्राप्त र विशिष्ट कवि हुन् । अन्तर्राष्ट्रिय स्तरका कवि व्यक्तित्वका रूपमा उनको मूल्यांकन गर्न सकिन्छ । त्यसो त कविताकाव्यका अतिरिक्ति गद्यलेखनमा पनि उनको उच्चस्तरको योगदानलाई पनि कम मूल्यांकन गर्न मिल्दैन । उनी ‘कवि’ का पर्याय जस्ता पनि बनेका छन् ।

सुन्दर र हृदयसंवेद्य कविताकाव्य लेखनमा उनी तुल्य व्यक्तित्व ‘न भूतो न भविष्यति’ जस्तो भइसकेको छ । माधवप्रसाद घिमिरे गण्डकी अञ्चल लमजुङ जिल्ल्लाको बाहुनडाडास्थित पुस्तन गाउँमा वि.सं. १९७६ साल आश्विन ७ गते मङ्गलबारका दिन जन्मेका थिए । उनी पिता गौरीशंकर र माता द्रौपदीदेवी घिमिरेका पुत्ररत्न हुन् । तीन वर्षको उमेर पुग्दानपुग्दै (१९७९–८०) मा उनकी आमाको मृत्यु भएकाले उनको बाल्यकाल सुख र सन्तोषसँग बित्न पाएन । (गौतम, २०६१ः१४१) उनी जन्मेको स्थल पुस्तुन प्राकृतिक छटाले पूर्ण सुन्दर र मनोहर भएकाले काव्य लेखनका निम्ति उत्प्रेरक मानिन्छ ।

आफ्नै जन्मगाउँको रमणीय र प्रेरणाप्रद प्राकृतिक परिवेश र वातावरणमा रमाउँदै र पिता गौरीशंकरबाट नैतिक अनुशासनको पाठ सिक्दै उनको वाल्यकाल बितेको थियो । सुयोग्य एवं आध्यात्मिक ज्ञानको ज्योतिबाट चुम्किएका पिताको रेखदेखमा हुर्केकाले उनको बाल्यकाल केही गर्न र सिक्नका निम्ति केन्द्रित भएको पाइन्छ । नकारात्मक सोचतर्फ उनको ध्यान उनकै पिता गौरीशंकरका कारणले मोडिन पाएन ।

६ वर्षकै उमेरमा घरमै अक्षरारम्भ गरी दुर्गाकवच र चण्डी पढ्न उनले थालेका थिए भने ८–९ वर्षको उमेरदेखि फुले बाबासँग ‘भाश्वती’ बाट पञ्चाङ्ग निकाल्ने ज्योतिष विषयको अध्ययन गर्न पुगे (ऐ.ऐ.) । यसै उमेरमा उनले जगरा लेकमा वस्तुभाउ चराएर घरायसी कामव्यवहारमा निकै सघाएका थिए । राम्रो सरसंगत र उचित शिक्षादीक्षाका कारण असल बन्नुका निम्ति कर्मकर्तव्यप्रति सचेत रहनुपर्छ भन्ने भावनाको विजारोपण उनमा पूर्ववाल्यावस्थामा नै परेको पाइन्छ ।

जब उनी उत्तरवाल्यावस्थामा (१० वर्ष उमेर पछि) प्रवेश गरे तब उनमा परिपक्वताका सामान्य लक्षणहरू पनि देखापर्दै आए । पिताको निर्देशन तथा आफूभन्दा ठूलाको अर्तीउपदेशलाई शिरोधार्य गर्दै र गुरुका नैतिक वचनवाणी उपर व्यावहारिक दृष्टि दिदैं उनी शिक्षा आर्जनका क्रममा लागेको देखिन्छ । १२ वर्षको उमेरमा लमजुङ्गको दुराडाँडामा आई मोक्षेश्वर घिमिरेसँग उनले गणित र फलित ज्योतिषको अध्ययन गरेका थिए । त्यस प्रकारका त्यसबेलाका अत्यन्त प्रभावकारी र फलदायी विषयको अध्ययनले उनमा एकातिर आत्मविश्वास बढ्यो भने अर्कोतिर ज्ञानको ज्योति धपधप बल्यो । उनी फलित ज्योतिषमा राम्रै कुराकानी गर्न सक्ने अवस्थामा पुगे । त्यही उमेरको हाराहारीमा उनले ज्योतिष विषयको मूहुर्तमार्तण्ड र चमत्कार चिन्तामणिको साथै पञ्चाङ्ग निर्माण गर्ने विधिको समेत अध्ययन गरेका थिए । (पोखरेल, २०३९ः५६) ।

१९९० मा १५ वर्षको उमेरमा हिन्दू साँस्कृतिक एवं धार्मिक परम्परा अनुसार लमजुङ्ग खुदीवेनीको पोखरेल परिवारकी छोरी गौरी सँग माधव घिमिरेको विवाह भएको थियो । असल कुलमा जन्मेकी तथा आफ्ना मातापिताबाट नैतिक अनुशासनका थुप्रै पाठ पाएकी गौरीसँगको वैवाहिक सम्बन्धले उनमा परिपक्वताको मात्र बढ्यो र युवावस्थामा प्रवेश सँगै उनी निकै व्यवहारिक पनि बन्दै गए । जानेका तथा सिकेका हरेक ज्ञान र सीपलाई उनी व्यवहारमा परिणत गर्न खोज्थे र सफलताका साथ कार्य सिछ पनि गर्थे ।

विवाहपछिका करिब २ वर्ष उनले ससुरालीमै बसेर बिताए । ससुरालीमा रहँदा बस्ता खुदीवेनीकै संस्कृत पाठशालामा उनले रघुवंश, हितोपदेश, लघुकौमुदी लगायतको गहन अध्ययन गरे । त्यसबेला एकातिर उनी माया प्रेममा लठ्ठ थिए भने अर्कोतिर अध्ययनको उत्कर्षमा थिए । २ वर्ष ससुराल बसी उनी घर फर्के तर घरमा बसेर वल्लोघाट र पल्लोतिरको हुने अर्थात् पत्नीको मायामा मात्र भुल्ने भइरहन सकेनन् । ज्ञान आर्जनको कुत्कुतीले उनलाई सताइरह्यो । त्यसबेला थप अध्ययनका लागि नेपाल (हालको काठमाण्डौं) जानुपथ्र्यो । खुदीबेनीमा बस्दा उनले आफ्ना गुरु बद्रीनाथ सुवेदीबाट माथिल्लो तहको शिक्षा पनि लिनुपर्ने र घरकुखुरे बन्न नहुने खालको उपदेश पाइसकेका थिए ।

अर्को महत्वपूर्ण कुरा के पनि प¥यो भने गुरु बद्रीनाथ सुवेदीका पुत्र गोविन्द सुवदी जो राजधानी नेपालस्थित तीन धारा संस्कृत पाठशालामा पढथे उनी घरमा आएका बखत उनले माधव घिमिरेलाई राजधानीतिरै गएर पढ्न प्रेरित गरे । पत्नी गौरिसित सरसल्लाह गरी पत्नीका केही गहना र सातमोहर चोरी उनी पढ्न भनी राजधानीतिर लागे (वियोगी, २०६०ः७५–८९) माधव घिमिरेमा १३÷१४ वर्षको उमेरमै कविता लेख्ने कला विकसित भएको थियो । राजधानी जानुपूर्व नै उनले गोरखापत्रर्मा ज्ञानपुष्प’ शीर्षकको कविता छपाईसकेका थिए । भनिन्छ घिमिरेको प्रथम लिखित कविता भर्ने ज्ञानपुष्प’ नभएर एउटा व्यापारीको विषयमा लेखिएको थियो जो उनले १० वर्षकै उमेरमा लेखेका थिए ।

उक्त कविताका बारेमा नेपाली कविताको इतिहास मौन देखिन्छ । राजधानी पुगेपछि घिमिरेमा बौद्धिक क्षमतामा समेत वृद्धि भयो । उनी त्यसैबेला कविका रूपमा चिनिईसकेका थिए । देखेका घटना र भोगका सन्दर्भलाई लयमा उनेर सुन्दर कविता बनाई उनी कक्षामै सुनाउँथे र साथीहरूका अतिरिक्त गुरुहरूको समेत उच्च प्रशंसा पाउँथे । वि.सं. १९९३ मा उनी राजधानी पुगी रानीपोखरी संस्कृत प्रधान पाठशालामा भर्ना भएका थिए ।

त्यसैसाल उनले प्रथम परीक्षा द्वितीय श्रे्रणीमा उत्तीर्ण गरेका थिए । त्यसपछि उनी तीनधारा संस्कृत पाठशालामा भर्ना भए । तीनधारा संस्कृत पाठशालामा दर्शन विषय लिई अध्ययन गर्दा उनको भित्री चिन्तन खारिएर आयो । फलस्वरूप उनमा कवित्व शक्तिमा तेब्बर वृद्धि भयो । आन्तरिक परीक्षामा हरेक पटक प्रथम र वार्षिक परीक्षामा सर्वोत्कृष्ट समेत भई उनले त्यसबखत आफ्नो प्रतिभा र मिहिनेतको प्रदर्शन समेत गराएका थिए । त्यसपछि उनी भारतको बनारसस्थित क्विन्स कलेज पुगे र त्यहाँबाट प्रथम श्रेणीमा सम्पूर्ण मध्यमा पास गरे ।

पण्डितराज सोमनाथ सिग्देलको कुशलतापूर्ण निर्देशनमा रही उनले २००२ सालमा स्विन्स कलेजबाट प्रतिभाका रूपमा देखा परे । १९९८ मै भाषानुवाद परिषद्मा जागीरे बनेकाले र कविता लेखनमा उनको रुची, तीब्र भएकाले शास्त्रीको पढाइ त्यति सन्तोषजनक तबरले अघि नबढेको स्वयम् घिमिरेको आत्मस्वीकृति छ । (पोखरेल, २०५५ः१५६)

१९९८ मा भाषानुवाद परिषदमा जागीरे बनेको घिमिरे २००१ सालमा मासिक रु. ४०।– खानेगरी गोरखापत्रको सहायक सम्पादक बनेका थिए । जागीरकै सिलसिलामा उनी २००५ सालमा जन्मजिल्ला लमजुङकै एक विद्यालयमा प्रधानाध्यापकमा खटिएका थिए । यहाँनेर के कुरा पनि स्मरणीय छ भने राजधानी रहँदाकै बखत उनकी धर्मपत्नी गौरीको २००४ साल आषाढमा निधन भएको थियो । शान्ति र कान्तिनामक दुई टुहुरा छोरीलाई खुदीबेनी मामाकोघर पठाई त्यसको एकवर्षपछि उनी प्रधानाध्यापक भई आधार शिक्षामा लमजुङ्ग आएका थिए ।

पत्नी वियोगको कठोर पीडाका बीचमै २००५ सालमा दुराडाडाका अधिकारी थरकी महाकालीसित घिमिरेको दोस्रो विवाह भएको थियो । जागीर र सेवाका सिलसिलामा पछिल्लो समयमा माधव घिमिरे शिक्षक शिक्षण केन्द्रमा शिक्षक, नेपाल भारत मैत्री संघका अध्यक्ष, कलेज अफ एजुकेशनका लेक्चर, काव्यप्रतिष्ठानको सदस्य, इन्द्रेणीका सम्पादक तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य र उपकुलपति हुँदै कुलपति आदि समेत बनेका थिए ।
विशेष गरी माधव घिमिरेको परिचय छन्दसँग जोडिएको छ । जीवनभर उनले छन्दमै साधना गरेर नेपाली कवितामा छन्दको प्रयोगलाई उत्कर्षमा पु¥याए ।

छन्दलाई अत्यन्त सहज र स्वाभाविक किसिमले प्रयोग गर्ने कवि शायद अर्को छैन । छन्दका सम्बन्धमा कविवर भानुभक्त पोखरेलद्वारा लिइएको एक अन्तर्वार्तामा घिमिरेले भनेको छन् ःर्– म छन्दको सुर नलागीकन लेख्नै सक्तिनँ भनेपनि हुन्छ । मेरा निम्ति छन्द कविताको प्राण हो– यद्यपि छन्दमात्रा कविता हैन भन्ने मलाई थाहा छ । गद्य लेख्दा मलाई त्यस्तो लय चढ्दैन र प्रयास परिरहेजस्तो र असजिलो परिरहेजस्तो अनुभव हुन्छ ।

मेरा निम्ति छन्द विनको कविता नुन बिनाको अलिनु तरकारी जस्तो हो’ (ऐ. ऐ पृष्ठः२२५) छन्दमा निरन्तर साधना गरी छन्दोबद्ध कविताको विकासमा विशिष्ट योगदान दिएकै कारण पोखरेली स्रष्टा, माधव वियोगीको प्रस्तावमा जनस्तरबाट उनी छन्दशिरोमणिको उपाधिबाट विभूषित भए । त्यति मात्र होइन वियोगीले उनलाई नायक बनार्ई छन्दशिरोमणि’ महाकाव्यको रचना समेत गरे । जीवितावस्थामै सामान्य जनताको छोरो महाकाव्यको नायक बनेको संभवतः यो पहिलो घटना हो भनी विद्वानहरूले भनेका छन् । माधव घिमिरेका कवितामा पाइने अर्को महत्वपूर्ण वैशिष्ट्य प्रकृतिका सौन्दर्यपूर्ण चित्रण हो ।

प्रकृतिको हरेक पक्ष उनको रचनामा साक्षात्कार भएका छन् । प्राकृतिक विम्वलाई जस्ताको तस्तै टिपेर प्रयोग गर्न तथा प्रकृतिको मानवीकरण गर्न उनी निकै सिपालु देखिएका छन् । पूर्वीय, आदर्श र मर्यादा अन्तर्गत रही कविता काव्य सिर्जना गर्ने माधव घिमिरे मानवताका पनि कवि हुन् । मान्छेको सुखशान्ति र समृद्धि उनका कविता सिर्जनाको अभिष्ट हो र्।

राष्ट्रवाद’ माधव घिमिरेलाई चिनाउने एक अर्को महत्वपूर्ण वैशिष्ट्य हो । राष्ट्रको बारेमा यति सुन्दर साहित्य शायद अरुले कमै लेखेका छन् । उनको यही पक्षको मूल्यांकन गरेर होला उनले राज्यका तर्फबार्ट राष्ट्रकवि’ को उपाधि पनि पाए । माधव घिमिरेले प्राप्त गरेका दुवै उपाधिका बारेमा घटराज भट्टराईले लेखेका छन् – काव्यनायकलाई छन्दधिरोमणि भनिनुपर्ने जिकीर कवि (माधव वियोगी) को छ, त्यसपछि काव्य प्रकाशमा आएपछि राष्ट्रकविको सम्मान पनि प्राप्त भएकाले काव्यकारको जिकीर स्वभाविक प्रतीत भएको छ । (भट्टराई, २०६०ः २९, गरिमा) । दुबै उपाधिको प्राप्तिले माधव घिमिरेको जीवनीगत व्यक्तित्वलाई अझै उर्वर पारेका छन् ।

नेपाली साहित्यमा धेरै बाँचेर पनि क्रियाशील जीवन बाँच्ने साहित्यकार संभवतः माधव घिमिरे नै हुन् । अर्को महत्वपूर्ण कुरा के छ भने लामो समय साहित्यले लेखेपनि उनले कृतिको संख्या धेरै बनाएको पाइन । उनले २ दर्जन जति मात्र कृति रचेका छन् । आकारले अधिकांश कृतिको अनुहार सानै देखिन्छन् र पनि तीभित्रका गुणपक्ष अत्यन्त सबल, जनहितकारी र प्रभावशील एवं मर्मस्पर्शी छन् । संख्यालाई भन्दा गुणलाई महत्व दिएर पनि माधव घिमिरे स्वच्छन्दवादी कविकै श्रेणीमा पर्दछन् । त्यसो त उनका रचनामा पाइने परिस्कारधर्मिता अन्य परिष्कारवादी कविको भन्दा कम छैन ।

त्यसैले माधव घिमिरे महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वच्छन्दता र कविशिरोमणि लेखनाथ पौडेलको परिष्कारता दुबैलाई समानरूपमा प्रयोग गर्ने कवि हु्न भन्न सकिन्छ । माधव घिमिरे पटकपटक सार्वजनिक रूपमा अभिनन्दित तथा रथ आरोहित भएका काव्य व्यक्तित्व हुन् । सानातिना अभिन्नदनलाई छाडेर हेर्दा पनि उनी राष्ट्रिय मूल समिति गठन भई २०६० साल आश्विन ७ गतेका दिन प्रज्ञाहल काठमाण्डौमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाबाट अभिनन्दित भएका थिए । सोही सामारोहमा उर्नी छन्द शिरोमणि’ घोषित भएका हुन् ।

त्यसको तेस्रो दिन अर्थात् आश्विन ९ गते उर्नी राष्ट्रकवि’ घोषित भएका थिए । त्यसका अतिरिक्त पोखरा चितवन, धनगढी लगायतका शहरहरूमा पनि उनी हजारौं हजार जनसमूहका बीच अभिनन्दित र रथारोहित भए । नेपाली साहित्यमा निजीस्तरबाट स्थापित सबैभनदा ठूलो राशि (हरेक ५ वर्षमा प्रदान गरिने ५ लाख रूपैंयाको) को भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कारबाट सर्वप्रथम पुरस्कृत हुने स्रष्टा माधव घिमिरे नै हुन् । उनले सीताराम साहित्य पुरस्कार, साझा पुरस्कार, आदिकवि, भानुभक्त पुरस्कार, त्रिभूवन प्ज्ञा पुरस्कार लगायत करीब २ दर्जन पुरस्कार तथा सम्मान पाएका छन् । उनले पाएका प्रमाणपत्र, सम्मान पत्र, कदरपत्र, अभिनन्दन पत्र प्रशंसापत्र आदिको संख्या ३०० भन्दा बढी भएको देखिनछ ।

शुरुका दिनमा जीवनयापनका सिलसिलामा थुप्रै कठोर संघर्ष गर्नुपरेतापनि पछिल्लो चरणमा माधव घिमिरे अत्यन्त सुखप्रद, प्रशंसनीयर र व्यवस्थित जीवन बाँचको पाइन्छ । सामाजिक एवं बौद्धिक व्यक्तिका रूपमा पनि उनको विशिष्ट सम्मान भएको देखिन्छ । एउटा कुशल साहित्यिक पत्रकार एवं सम्पादकको रूपमा उनले निर्वाह गरेको भूमिका पछिल्लो पुस्ताका लागि समेत प्रेरणादयी बनेको छ ।

त्यस्तै गरी नेपाली बालसाहित्यको समुन्नतिमा पनि उनले अग्रपङ्तिकै योगदान दिएका छन् । अत्यन्त स्तरीय र मर्मस्पर्शी राष्ट्रिय गीतका रचनाकारका रूपमा पनि उनको नाम अगाडि आउँछ । गीतिनाटक र निबन्धकारितामा पनि उनको योगदान अविस्मरणीय छ । यी सब तथ्यबाट के कुरो प्रष्ट हुन्छ भने माधव घिमिरे नेपाल साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको लेखनको मूल केन्द्रविन्दु भने छन्दोबद्ध कविताकाव्य नै हो । वि.सं. २००४ सालमा धर्मपत्नी गौरीको निधन र त्यसबाट उत्पन्न शोकपीडा माधव घिमिरेको जीवनको सबभन्दा ठूलो दुर्घटना हो । त्यसै दुर्घटनाको सेरोफेरोमा रचित गौरी (२०१५) खण्डकाव्य उनको एक विशिष्ट कृति बनेको छ ।

माधव घिमिरेले नेपाली खण्डकाव्यको विकासमा उल्लेख्य योगदान दिएका छन् । उनको पहिलो खण्डकाव्य रामविलास (रचना १९९५) जीवन सङ्गीत (रचना – १९९८), सुदामा चरित्र (रचना–१९९३) हुन् भने कान्तिमती (रचना–२०१६) अझै पनि अप्रकाशित अवस्थामा छ र गौतम २०६१ः१४४) । उनका सुप्रसिद्ध बनेका प्रकाशित खण्डकाव्यहरू गौरी (२०१५), पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३) धर्तीमाता (२०३०), राहुल यशोधरा (२०३५–बाल लघुकाव्य) हुन् । उनका गीतकविता संग्रह नवमञ्जरी (१९९४), किन्नर किन्नरी (२०३३)– र चैत वैसाख (२०६०) हुन् । त्यस्तै गरेर गीतिनाटकतर्फ, घिमिरेले मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) र बालकुमारी ( ) हुन् र्। गोविन्द’ र क्रृतम्भरा उनका लेखनारम्भ भएका तर पुरा हुन नसकेका महाकाव्य हुन् । नेपाली बालसाहित्यतर्फ उनका सनपङ्खी चरी, घामपानी बाललहरी, गौंथली र गजधम्मे आदि प्रकाशित छन् भने आफ्नै गीत आफ्नै बाँसुरी र चारु चर्चा निबन्धनिकट गद्यकृति हुन् ।
–माधव वियोगी (फेसबुकबाट साभार)