Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

काठमाण्डु – विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिँदो रुपमा छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढे पनि स्वास्थ्यकर्मीहरुले उच्च मनोबलका साथ काम गरिरहेका छन् ।

देशको राजधानी काठमाण्डु उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोना भाइरसको संक्रमणले चिकित्सकहरु पनि संक्रमित हुनेक्रम बढ्दो क्रममा छ । त्यस्तै पछिल्लो समय उपचारमा खटिएका चिकित्सकहरुमाथि नै सांघातिक आक्रामण हुने गरेको घटना बाहिरिँदै आएका छन् ।

एकातिर कोरोना भाइरसको महामारी र अर्कोतिर सांघातिक आक्रमण हुने त्रासका बाबजुद पनि चिकित्कसहरुले उच्च मनोबलका साथ अग्र पंक्तीमा रहेर बिरामीलाई सेवा दिइरहेका छन् । उपचारको क्रममा संक्रमित भइहाले पनि समाजले घृणा गर्ने घटनाहरु बाहिरिरहेका छन् ।

जोखिम मोलेर कोरोना भाइरस संक्रमितको उपचामा खटिएका चिकित्सकको अनुभव कस्तो रह्यो ? उनीहरु कस्तो सुरक्षाबीच कोरोना सक्रमितको उपचार गरिरहेका छन् ? घर परिवार र समाजले कस्तो दृष्टिले हेर्ने गरेको छ ? सोही विषयमा पाटन अस्पतालको प्रसूती वार्डको कोभिड वार्डमा सिनियर नर्सको रुपमा कार्यरत नर्स अभिरुची बुढाथोकीसँग कुराकानी गरेका छौं ।

कोरोना संक्रमितको सेवामा खटिँदाको अनुभव, परिवार र समाजको हेर्ने दृष्टिकोण लगायतका विषयमा काठमाण्डुपाटीका लागि यशोदा भुजेलले गरेको कुराकानीको सम्पादित अंशः

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना नेपालमा पनि फैलिरहेको छ । सुरुमा कोभिड वार्डमा काम गर्दा तपाईको अनुभव कस्तो रह्यो ?

अवश्य पनि मैले सुरुमा कोरोना वार्डमा काम गर्दा तितो मिठो दुबै अनुभव महशुस गरेको छु । एकदमै खुशी छु भन्ने पनि हुँदै न अनि एकदमै दुखी छु भन्ने पनि हुँदैन । किनभने सुरु सुरुमा कोरोना भाइरसको संक्रमणका बारेमा कसैलाई पनि धेरै जानकारी थिएन । नेपालमा त झन् कस्तो अवस्था हुने होला भन्ने कुराको कसैले अनुमान समेत गर्न नसक्ने अवस्था थियो । जब कोभिड–१९ आउन थाल्यो, म आफ्नो वार्डमा सिनियर भएकाले मेरो नाम पहिलो सूचीमा आयो ।

त्यतिबेला एकदमै डर लागेका थियो । त्यसपछि घरमा फोन गरेर ममिलाई आफू कोभिड वार्डका लागि छनौट भएको कुरा सुनाएँ । ममिको कुराले ममा झन हौसला प्राप्त भयो । ‘विश्वमा यत्रो ठूलो महामारी आइरहेको छ, भोली नेपालमा पनि आउँन सक्छ यस्तो बेला तिमिले निडर भएर पीपीई लगाएर बिरामीको सेवा गर्न सक्यौ भने पो तिमी एउटा सच्चा नर्स भयौ त । ढुक्क भएर काम गर’ ममिले यस्तो भन्नुभएपछि मलाई थप हौसला आयो । त्यसपछि मैले आफ्नो काम सुरु गरेँ । यस्तो बेलामा हौसला दिने कोही न कोही त चाहिने रहेछ ।

ममिको त्यो हौसलाले मलाई कोभिड संक्रमित बिरामीको सेवा गर्न हिम्मत जुटायो । पाटन अस्पताल लगायत देशभरका अस्पतालमा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । आफ्नै आँखा अगाडी मानिसहरुको मृत्यु भएको देख्दा कहिलेकाहीँ डर पनि लाग्छ । यस्तो कन्डिसनमा कहिलेकाँही आईसीयूमा पनि सहयोग गर्न जानुपर्छ । त्रास त छ, त्यसको बाबजुद पनि हामीले यस्तो अफ्ठ्यारो परिस्थितीमा पनि आफ्नो जीउ र ज्यानले सकेसम्म सेवा गरिरहेका छौं । यो देख्दा खेरी आफुलाई गर्भ पनि लाग्छ । यस्तो अफ्ठ्यारो परिस्थितीमा पनि मैले केही गर्ने मौका पाएँ, कोभिड संक्रमित बिरामीको सेवा गर्ने मौका पाएँ भन्ने गर्भ महसुस हुन्छ ।

सुरुको अवस्थामा पिपिई (कोरोना संक्रमितको उपचारमा खटिँदा लगाउने) को समस्या कस्तो थियो र अहिले कस्तो छ ?

अहिले हामीलाई पीपीईको समस्या छैन । किनभने पाटन अस्पतालले पीपीई आफैँ उत्पादन गर्छ । हामीले एउटै सिफ्टमा पनि तीन वटा सम्म पीपीई फेर्न पाउँछौं । पीपीई लगाउँदाको अनुवभ कस्तो हुन्छ त भन्दा पीपीई नपाउँदा टेन्सन हुँन्थ्यो पहिला । पीपीई दिए त सुरक्षीत हुइन्थ्यो होला नि भन्ने लाग्थ्यो । जब पीपीई पाईसकेपछि लगाउने बेलामा छुट्टै दुख हुन्छ । बाहिर देखिएजस्तो पक्कैपनि सजिलो हुँदैन । पीर्पी लगाउँदा विभिन्न नियमहरुलाई फलो गर्नुपछि । एकदमै राम्ररी कतैबाट पनि हावा नछिर्नेगरी कसेर लगाउनुपर्छ । पीपीई लगाईसकेपछि ग्लोबस, मास्क तथा फेस शिल्ड लगाउनुपर्छ । अझ पीपीई लगाएर कोभिड वार्डमा छिरेपछि हामीले खाने, पिउने तथा ट्वाइलेट समेत जान मिल्दैन । अझ महिला नर्सहरुलाई त धेरै गाह्रो हुन्छ ।

पिरियडको समयमा ६ भण्टासम्म प्याड समेत चेन्ज गर्न पाइँदैन । म आफै मेन्स्ट्रस हेल्थको बारेमा सिकाउँदै हिड्ने मान्छे हो । तर अहिले हामी आफैले ६ घण्टासम्म प्याड चेन्ज नगरेर बस्नुपर्छ । एउटा प्याडमा बस्नुपर्दाको पिडा म आफैले फेस गरेको छु, यस्तो बेलको पीडा म यहाँ बर्णन पनि गर्न सक्दिनँ । एक पटक मेरो पीरियडकै समयमा नाइट ड्यूटी परेको थियो । म साँझको ७ बजे पीपीईसँगै त्रिपल प्याड लगाएर वार्डमा छिरेको थिएँ । त्यो रात एक जना कोभिड संक्रमित विरामीको डेलिभरी गराउनुपर्ने थियो । राती साढे दुई बजेमात्र बच्चा जन्मियो ।

साढे सात घण्टादेखि लगाएको प्याडले धेरै गाह्रो भइरहेको थियो । यस्तो प्रबोलम्स फेस गर्नुपर्दा आफ्नो जिवन आफ्नै लागी रहेनछ भन्ने पनि महसुस चएको थियो । यो दुख मलाई मात्र हैन विशेष गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सहरु जो पीपीई भित्र रहेर काम गर्नुहुन्छ, उहाँहरु सबैले भोग्नुपरेको छ । पीपीईमा काम गर्दा गाह्रो त हुन्छ तर लगाउँदा सुरक्षीत पनि हुन्छ । अझ पीपीई लगाउँदा भन्दा खोल्दा धेरै गाह्रो हुन्छ । लगाउँदा एक्लैले लगाउन सकिएपनि खोल्ने बेलामा एक जना सहयोगी अनिवार्य हुनैपर्छ । पीपीई खोल्दाखेरी एकदमै सतर्कता अपनाउनु पर्छ । किनभने पीपीई खोल्ने क्रममा कोभिड सर्ने सम्भावना एकदमै बढी हुन्छ । पीपीई खोल्नुअघि स्यानिटाइजरले पुरै शरीर स्प्रे गर्नुपर्छ । त्यसपछि शरीरमा लगाइएका पीपीई लगायत मास्क, ग्लोब्स, फेस शिल्ड, चस्मा पालैपालो निकाल्नुपर्छ र सुरक्षीत स्थानमा राख्नुपर्छ ।

कोरोना संक्रमितको उपचारमा खटिँदा परिवार र समाजको हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

जुनसुकै कुरामा पनि दुईवटा पार्ट हुन्छ, नेगेटिभ–पोजेटिभ । सुरुको दिनमा घरमा र समाजमा धेरै स्ट्रिक गर्नुहुन्थ्यो । त्यो बेला चाहीँ मलाई नै कोभिड लागेको हो कि भन्ने महसुस हुन्थ्यो तर अहिले त्यही समाजमा बस्ने कतिपय मानिसहरुले रेस्पेक्ट पनि गनुृहुन्छ । सपोर्ट गर्नुहुन्छ । तपाईले राम्रो काम गरिरहनुभएको छ, यो समयमा तपाईले गरेको काम एकदमै राम्रो हो भन्नुहन्छ । यो कोरोनाको समयमा जति पनि समाजका मान्छेहरु भेटेको छु । मैले बिरमीको सेवा गरेको गरेको देखेर खुशी हुने, प्रोत्साहन गर्ने नै भेटेको छु, केहीलाई छोडेर ।

कोभिड–१९ संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न सरकारले के कस्ता कार्यहरु गर्नुपर्ला ?
हाम्रो जस्तो विकसोन्मुख देशमा सरकारले आफ्नो तर्फबाट सकेजति त गरिरहेको छ । तर हामीले यो गर त्यो गर । हामीलाई यो हुनुपर्छ, त्यो हुनुपर्छ भनेपनि गनसक्ने अवस्था छैन । पहिला त कोरोना कै व्यवस्थापनका लागि सरकारले कति खर्च गर्नुपर्ने हुन्छ । तर यस्तो अवस्थामा सकेसम्म हामीलाई निराशा पार्ने काम चाहीँ नगरिदिएहुन्थ्यो । जे हामीले गरिरहेका छौं त्यो कामलाई सम्मान चाहीँ गर्नुपर्छ ।

जोखिम मोलेर संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुले प्रोत्साहन भत्ता नपाएको गुनासो पनि आएको छ । तपाईहरुको अस्पतालमा कस्तो छ अवस्था ?

प्रोत्साहन भत्ता दिने कुरा आएको हो तर अहिलेसम्म हामीले पाएको छैन । हाम्रो अस्पतालमा कसैले पनि पाएका छैनन् । अस्पतालमा आएको भए त हामीले पाउनुपर्ने हो तर अस्पतालमै नआएपछि हामीले कहाँबाट पाउने ? सरकारले प्रोत्साहन भत्ता दिन्छु भनेर बोलेका कुरा कार्यान्वयन गर्न सकेन । कि त बोल्दै नबोल्नु, बोलिसकेपछि कार्यान्वयन चाहीँ गर्नुपर्छ ।

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेको छ नि ?

स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टर, नर्स भनेको विरामीको उपचार गर्ने मान्छे हो । ज्यान बचाउने ठे्का त लिएको हुँदैन न नी । कतिपय केसहरु यस्तो हुन्छन् की हामीले चाहेर पनि रोक्न सक्दैनौं । इभन हाम्रै प्रसुति वार्डको हेर्ने हो भने पनि हजार जनामा एक जनाको ज्यान गएकै हुन्छ । बढी रक्तस्राव भएर मृत्यु हुने चान्सेज एकदमै धेरै हुन्छ । यो रिसर्चले पनि देखाएको कुरा हो । विकसित देश अमेरिकामा पनि यो छ । हजार जनामा एक जनाको ज्यान जाँदा बाँकी ९ सय ९९ जनाको उपचार गरेको नदेख्नु त भएन नी । त्यो कारणले गर्दाखेरी हामीले सकेको प्रयास गर्ने हो तर मृत्युलाई रोक्ने ठेक्का पक्कै पनि कसैले लिएको हुँदैन । जो पनि अस्पतालमा उपचारका लागि आउनुँहुन्छ, उहाँहरुले यो चाहीँ बुझ्नुपर्छ ।

कोरोना संक्रमितलाई राख्ने बेडको अभाव छ, उपचार नपाएर दिनहुँ मृत्यु हुनेको संख्या बढीरहेको छ, यसमा सरकारले कस्तो तयारी गर्नुपर्छ ?

हाम्रो देश नेपालमा मात्र होइन, शक्तिशाली देशहरुमा पनि जस्तै अमेरिका, यूरोप जस्तो ठाउँमा पनि बेडको अभाव भइरहेको छ । जुन रेसियोमा संक्रमितहरु ब्ढीरहेका यस्तो परिस्थितीमा सरकारले अल्ट्रानेटिभ तयारी त गर्नैपर्छ । एउटा राम्रो क्वारेन्टाइन जस्तै ठाउँ निर्माण गर्नुपर्छ । यदि सकेन भने घरमै भएपनि आइसोलेसनमा बस्न मिल्ने गरी सुविधाहरु उपलब्ध गराएर हुन्छ कि कसरी हुन्छ थारै भएपनि पूर्वतयारी चाँही गर्नुपर्छ । हाम्रो सरकारले चाइनाको जस्तो अस्पताल नर्मिाण त गर्न सक्दैन तर पनि विकल्पका रुपमा केही न केही त सोच्नुपर्छ, गर्नुपर्छ ।

सरकारले प्राइभेट अस्पताललाई पनि बेड तयारी अवस्थामा राख्नु भनेर निर्देशन दिएको छ, तर, कार्यान्वयन भएको छैन् । यस्तो तयारीले नेपालमा कोरोना नियन्त्रण हुन्छ ?

सरकारले अहिले के तयारी गरेको छ, तपाईंले देख्नुभएको छ ? भोली बिरामीको सेवा गर्दागर्दै मलाई नै कोरोना संक्रमण भयो भने मैले नै अस्पतालमा बेड पाउँदिन । सबै अस्पतालका बेडहरु प्याक भईसकेको अवस्था छ । सरकारले खोई कहाँ गरेको छ तयारी ? म चाँही प्रश्न गर्न चाहान्छु ।

अहिलेसम्म कति जना कोरोना संक्रमित गर्भवतिको डेलिभरी गराउनुभयो ? प्रसुतीको बेला आमाबाट बच्चामा कोरोना सर्न नदिन के कस्ता सावधानीहरु अपनाउनुभएको छ, अपनाइनुपर्छ ?

यति नै गर्यौ भन्नका लागि त डाटा नै हेर्नुपर्छ । तर ५, ७ जना संक्रमित गर्भवतिको डेलिभरी गराइसक्यौं । २, ३ वटा त अप्रेसनद्धारा नै प्रसुती गराएका छौं । नर्मल पनि भएको छ । कोरोना संक्रमित आमाबाट बच्चामा सर्ने चान्सेज यति नै हुन्छ भन्ने यकिन छैन । किनभने हाम्रो नेपालमा अहिलेसम्म आमाबाट बच्चामा सरेको तथ्यांक छैन । तर पनि रोग हो, कहाँ कतिखेर के हुन्छ भन्न सकिँदैन त्यसैले हामीले कोरोना संक्रमित आमाबाट बच्चा जन्मेपछि सुरुमै नाली काटेर बच्चालाई आमाबाट छुटाउँछौं । सँगै बस्न दिँदैनौं । बच्चालाई दुध पनि हमीले चुसाउन दिँदैनौं । जब आमालाई निको हुन्छ, त्यसपछि मात्र हामीले आमालाई बच्चा हस्तान्तरण गछौं । जतिसक्दो हामीले आमाबाट बच्चामा नसरोस् भनेर सावधानी अपनाएका छौं । डेलिभरीको समयमा पनि आमालाई मास्क लगाएर राख्छौं । प्रसव पिडा भइरहेको बेलामा पनि मास्क लगाउनु यो सबैभन्दा गाह्रो अवस्था हो । तर आमाबाट बच्चामा नसरोस भन्नका लागि हामीले उच्च सतर्कता अपनाएका छौं ।

तपाईले कोरोना भाइरसको संक्रमणबाट जोगिन कस्तो सावधानी अपनाइरहनु भएको छ ?

मैले अहिलेसम्म एक पटक मात्र पीसीआर टेष्ट गराएको छु । परीक्षणको रिपोर्ट नआउँदा सम्म निकै डर लागेको थियो । नेगेटिभ आएपछि खुशी भएँ । पाटन अस्पतालमा धेरै नर्सहरु कार्यरत छौं । त्यसैले हरेक नर्सको पिसिआर परीक्षण सम्भव नभएकाले अस्पतालले नै एउटा समुहमा काम गर्नेमध्ये एक पटकमा एक जनाको दरले पिसिआर परीक्षण गर्छ । उदाहरणको लागि मेरो वार्डको नाइट सिफ्टमा हामी तीन जना काम गर्छौं । हामी मध्ये एक जनाको परीक्षण गर्दा र उनको नतिजा जे आउँछ हाम्रो पनि त्यही नै हुनेछ भन्ने प्रकृया अपनाइएको छ । अब भने मेरो दोस्रो परीक्षण गर्ने बेला भएको छ । खासगरि म बाहिर निस्किँदिन । कहिलेकाहीँ सब्जी किन्न बजार जाँदा, अस्पताल जाँदा लगाएका कपडाहरु धुने, नुहाउने, साबुनपानीले हात धुने, मास्क लगाउने, दूरी कायम गर्र्नेे, बच्चाहरुसँग सम्पर्कमा नआउने गरिरहेको छु ।

अहिलेसम्मको तथ्यांक हेर्दा बढी उमेरका व्यक्तिलाई कोरोनाले असर गरेको पाइन्छ, युवा उमेरका व्यक्तिलाई कतिको असर गर्छ ?

रोगले युवा, बुढो, बच्चा भन्दैन । रोग लागेपछि कतिको असर पर्छ भन्ने कुरामा फरक पर्छ । जस्तो कि बृद्धबृद्धाहरुमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ, बुढाबुढीहरुलाई सुगर, प्रेसर, मुटुका रोगलगायत अन्य रोगहरु हुने भएकाले शरीर अलरेडी कमजोर भइसकेको हुन्छ । उहाँहरुको रोगहरुसँग लड्न सक्ने क्षमता हुँदैन र बढी उमेरकालाई असर गरेको देखिन्छ । युवाहरुमा रोगसँग लड्न सक्ने क्षमता बढी हुन्छ । त्यसैले युवा उमेरकालाई असर गरेको देखिँदैन ।

कोभिड नियन्त्रणमा अस्पताल र स्वास्थ्यकर्मीको भूमिका कस्तो हुनुपर्छ ?

पाटन अस्पातालको स्टाफ भएकोमा खुशी लाग्छ मलाई । पाटन अस्पतालले जुन रोल खेलिरहेको छ, यो चाहीँ समाजका लागि एउटा उदाहरण हो । पहिला अरु अस्पालले कोरोना संक्रमितलाई लिन नमानिरहेको बेला पाटन अस्पतालले आफ्नै अस्पताललाई पुरा कोरोना अस्पतालको रुपमा परिणत गरेको हो । अस्पतालमा बिरामीको चाप एकदमै बढी हुँदाहुँदै पनि देशलाई सेवा गर्छौं, कोरोना संक्रमित बिरामीको सेवा गर्छौं भनेर अस्पातल प्रशासनले अस्पताललाई कोरोना अस्पतालको रुपमा सेटअप गरेको हो । अहिले अन्य अस्पतालले लिन नमानेका बिरामीहरुलाई पाटन अस्पतालले लिएर गर्दै आइरहेको छ । हामीले आफ्नो ज्यानलाई जोखिममा राखेर काम गरिरहेका छौं । स्वास्थ्यकर्मीहरुले रोग लागेपछि उपचार गर्ने त छँदैछ तर पनि रोग लाग्न नदिनका लागि सोसल मिडियामार्फ स्वास्थ्य शिक्षाको बारेमा जानकारी दिने, सकेसम्म रुल्सहरुलाई फलो गर्न लगाउनुपर्छ ।

पाटन अस्पतालमा कार्यरत स्वास्थ्थकर्मीमा कोरोनाको जोखिम कतिको छ ?

एकदमै जोखिम बढी छ । जति नै पीपीई लगाएपनि जति नै सावधानी अपनाइएपनि बिरामीको प्रत्यक्ष सम्पर्कमा एक मिटर डिस्टान्सभित्र रहेर काम गर्नुपर्ने भएकाले स्वास्थ्यकमीहरु कोरोनाको उच्च जोखिममा हुनुहुन्छ । उदाहरणका लागिः बिरामीको घाँटीबाट पाइप छिराउँदा सर्न सक्छ ।

कोरोना नियन्त्रणमा केन्द्र सरकारको तयारी पूर्ण छ ?

सरकारले अहिलेसम्म कुनै तयारी गरेको छैन । किनभने महामारी नै फैलियो भने कहाँ राख्ने त भन्ने पनि छैन हाम्रो नेपालमा । कम्तीमा पनि यति जना यो ठाउँमा राख्ने, यसरी राख्ने भन्ने केही तयारी त हुनपर्यो नि ?। सरकारले कहीँ आएर खुला रुपमा कोरोना नियन्त्रण गर्न यस्तो गर्छौं भनेर पनि भनेको छ जस्तो मलाई लाग्दैन ।

नर्सिङ पेशासँगै मोडलिङलाई पनि अगाडी बढाइरहनुभएको छ, दुईतिर कसरी टाइम म्यानेज गर्नुभएको छ ?

‘जहाँ इच्छा, त्यहाँ उपाए’ भन्ने त सबैलाई थाहै छ, तर पनि कतिपय अपुर्चुनिटी मिस हुन्छ । मैले नर्सिङलाई नै आफ्नो करियर बनाइसकेको छु । अब नर्सिङलाई छाडेर कलाकारितामा आउँछु भन्ने अवस्था छैन । मैले मेरो कलाकारिताको सौखलाई पूर्णतया त्याग्छु भन्न पनि सक्दिनँ, त्यसैले आफुले भ्याएसम्म मोडलिङलाई पनि समय दिने गरेको छु । तर धेरै भन्दा धेरै अपुर्चुनिटी चाहीँ मिस हुन्छ । नर्स भएर बिरामीको सेवा गर्नु गर्भको कुरा हो, त्यसैले दुख लाग्दैन ।

कोरोना महामारीको यो अफ्ठ्यारो परिस्थितीमा के भन्न चाहानुहुन्छ ?

यो परिस्थितीमा आफु कसरी बच्ने भन्ने तिर ध्यान दिन आग्रह गर्छु । सरकारको मुख ताकेर नबस्नुस् । किनभने कोरोना लाग्यो भने सरकारलाई लाग्ने होइन हामीलाई लाग्ने हो । हाम्रो जिवन हामीलाई अमूल्य छ, हामी आफु नै सचेत होऔं, सरकारले जारी गरेको नियमहरुलाई पालना गरौं । सामाजिक सञ्जालमा फैलाइएका अफवाहरुलाई नसुनौं, सामाजिक दुरी कायम गरौं, जुठो खानेकुराहरु नखाऔं, मास्क लगाऔं, खानेकुराहरुमा विशेष ध्यान दिने गरौं । स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले अनिवार्य हात धुने गर्नुपर्छ ।
काठमाण्डुपाटीबाट साभार