Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मंगलबारबाट हुने भनिएका सबै यात्रुवाहक चार्टर्ड उद्धार उडान रद्द गर्न सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

सीसीएमसीको यो निर्णयसँगै विदेशमा अलपत्र परेका नेपालीहरुको समस्या झन बल्झिने देखिएको छ । परराष्ट्रको पत्रपछि दूतावासहरुले उडान स्थगित भएको सूचना जारी गरेका छन् । मलेसिया, साउदी, कुवेत लगायत मुलुकस्थित नेपाली दूतावासले अर्को सूचना जारी नहुँदासम्मका लागि सबै यात्रुवाहक चार्टर्ड उद्धार उडान स्थगित भएको उल्लेख गरेका छन् ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न जिल्लामा कतै निषेधाज्ञा कतै लकडाउन र सिल नै गरिएपछि विदेशबाट ल्याइएको व्यवस्थापनमा समस्या हुने सरकारको विश्लेषण छ । उद्धार उडान रोक्ने सरकारको निर्णयसँगै विभिन्न वायुसेवा कम्पनीले गर्ने भनिएको उद्धार उडान अर्को सूचना नभएसम्मका लागि रद्द भएका छन् ।