Jagaran Nepal सोमबार, भाद्र ०१, २०७७

काठमाडौँ। उमेरले ७७ पुगेका बलिउड महानायक अमिताभ बच्चन पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय छन्। केही दिनअघि कोरोना भाइरसलाई जितेर घर फर्किएका महानायक बच्चनले काठमाडौँको याद गरेका छन्।

एक जना फ्यानले बच्चनको फोटो सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै यो फोटो कुन फिल्मको हो भन्दै पोष्ट गरेपछि बच्चनले काठमाडौँलाई सम्झेका हुन।

बच्चनले ट्विटमा लेखेका छन्, ‘म भन्छु यो फोटो ‘महान’ फिल्मको सुटिङको बेलाको काठमाडौँ नेपालको हो।’

बलिउड सुपरस्टार बच्चन सानैमा बाबुसँग काठमाडौँ आएका थिए। पछि उनी आफ्नो फिल्म महानको सुटिङका क्रममा नेपाल आएका थिए।

पहिलो दक्षिण भारतीय फिल्म उद्योगमा यही फिल्मबाट अमिताभले ‘इन्ट्री’ गरेका थिए। फिल्म सुटिङकै लागि आए पनि अमिताभ बच्चन त्यतिवेला सपरिवार नेपाल आएका थिए।

पिता कवि डा हरिवंशराय बच्चन, माता तेजीसुरी बच्चन, पत्नी जया बच्चन मात्र होइन, अमिताभले काठमाडौँमा छोरा–छोरी (अभिषेक र श्वेता) दुवैलाई लिएर आएका थिए।

तत्कालिन समयमा काठमाडौँ आएका बच्चनलाई राजपरिवारले खुला रूपमा स्वागत गरेको थियो। राजपरिवारबाट न्यानो स्वागत पाएका अमिताभलाई होटेल अन्नपूर्णले पनि रात्रिभोज दिएको थियो।