Jagaran Nepal आइतबार, साउन ३२, २०७७

कोरोना भाइरसको उत्पत्तिस्थल चीनको उहानस्थित समुन्द्री बजार नहुनसक्छ । अमेरिकाको इथाकास्थित गैरनाफामुलक बायोसाइन्स रिसोर्स परियोजनामा काम गरिरहेका भिरोलोजिस्ट जोनाथन लाथम र मोलेकुर बायोलोजिस्ट एलिस्सन विल्सनको निष्कर्ष यस्तै छ ।

उहानदेखि १ हजार माइल्स टाढा एक चिनियाँ खानीमा काम गरिरहेका ६ जना कामदारहरु चमेरोको सम्पर्कमा आउँदा २०१२ मै रहस्यमय रोगबाट संक्रमित भएका थिए । लाथम र विल्सनका अनुसार यही रोग कोरोना भाइरसको सुरुवात हुनसक्छ । ती कामदारहरुको उपचारमा संलग्न चिनियाँ मेडिकल डाक्टर लि सुुले मास्टर्सका लागि तयार गरेको ६६ पृष्ठ लामो थेसिसलाई अनुवाद गरेपछि लाथम र विल्सन यस्तो निष्कर्षमा पुुगेका हुन् ।

‘कोरोना भाइरसको उत्पत्तिबारे हामीले जे जानेका छौं भनेर बुुझेका थियौं, यसमा समावेश तथ्यले हामीलाई ती सबै कुरा पुनर्विचार गर्न बाध्य गरायो,’ लाथम र विल्सनले १५ जुलाईमा आफ्नो वेवसाइट ‘इन्डिपेन्डेन्ट साइन्स न्युज’ मा लेखेका छन् ।

के भएको थियो ?
२०१२ मा दक्षिणपश्चिम चीनको युनान प्रान्तस्थित मोजियाङ खानीमा १४ दिनसम्म चमेरोको मल हटाउँदै बसेका मजदुरमध्ये ६ जना बिरामी परेका थिए । फिजिसियन लि सु यी मजदुरहरुको उपचारमा खटिए । उनीहरुमा निमोनियाजस्तै रहस्यमय रोग देखिएको थियो । बिरामीहरुमा कसरी उच्च ज्वरो, सुख्खा खोकी, जोर्नी र घुँडा दुख्ने र केहीमा टाउको दुख्ने लक्षण देखिएको थियो भनेर लिले आफ्नो थेसिसमा उल्लेख गरेका छन् । यी सबै कोभिड–१९ सँग सम्बन्धित लक्षण हुन् ।

त्यस्तै, यी मजदुरहरुलाई उपचार गर्दा भेन्टिलेसनको व्यवस्थासहित स्टेरोइड, ब्लक थिनर र एन्टिबायोटिक्सजस्ता औषधी दिइएको थियो । ‘अहिले कोभिड १९ का धेरै बिरामीहरुको उपचार यसरी नै भइरहेको छ,’ थेसिसलाई अंग्रेजीमा अनुवाद गरेका लाथम र विल्सन भन्छन् ।

थेसिसमा उल्लेख भएअनुसार हेपाटाइटिस, डेंगुु ज्वरो र एचआईभी समेतगरी धेरै रोगको पटक–पटक परीक्षण गर्दा समेत केही समस्या नदेखिएपछि रहस्यमय रोगबारे लिले चीनका धेरै विशेषज्ञसँग परामर्श लिएका थिए । उनले यसक्रममा २००३ मा सार्स महामारीको व्यवस्थापन गरेका अन्तर्राष्ट्रिय चिनियाँ हिरो डाक्टर झोङ नान्सानसँग पनि परामर्श गरे ।

‘झाङ नान्सानसँग लिले भेट्नुुको अर्थ ती ६ जना मजदुरको रोग उच्च चिन्ताको विषय थियो भन्ने थाहा हुन्छ । दोस्रो, यस यस रोगको सम्भावित कारक सार्सजस्तै कोरोना भाइरस रहेको मानिएको थियो ।’

थेसिसमा उल्लेख भएअनुसार लिले मजदुरहरुको स्यापल टिस्यु परीक्षणका लागि उहान ल्याबमा पनि पठाएका थिए । त्यहाँका वैज्ञानिले परीक्षणपछि यस रोगलाई चिनियाँ रुफोस हर्ससुुज चमेरोबाट सरेको सार्सजस्तै कोरोना भाइरस भनेका थिए । उहान ल्याब कोरोना भाइरसको अध्ययनका लागि चीनको मुख्य ल्याब हो ।

के छ निष्कर्ष ?
लाथम र विल्सनको बुुझाइमा कुनै समय खानीभित्र रहेको यो भाइरस नै अहिले सार्स–कोभ–२ अर्थात् कोभिड–१९ का रुपमा विकसित भएको हो । ‘उहान ल्याबका वैज्ञानिकहरुले गत वर्ष कोभिड–१९ फैलिएपछि अनुसन्धान गर्ने क्रममा यस खानीमा पनि चमेरोबाट कोरोना भाइरसको स्याम्पल लिए, तर उनीहरुले २०१२ को कनेक्सन छुुटाए,’ लाथमले न्युुर्योक पोस्टसँग भनेका छन् ।

लाथम र विल्सनको खोजीले अमेरिकामा वैज्ञानिक समुदायमाझ निरन्तर सकारात्मक रिभ्यु पाइरहेको छ । गत जुलाईमा अमेरिकाका चर्चित जेनेटिसिस्ट तथा मोलेकुुलर इन्जिनियर जर्ज चर्चले उनीहरुको कामलाई ट्वीटरमा शेयर गरेका थिए । यस ट्वीटमा ३ सय ४ रिट्वीट भयो भने ४ सय ४ लाइक्स आयो । जुलाई १९ मा यस रिपोर्टबारे सेल वायोलोजी र एनाटोमीका वरिष्ठ विज्ञ स्टुुआर्ट न्युम्यानले ट्वीट गरेका थिए,‘सार्स कोभ २ को स्रोतबारे अहिलेसम्मकै उत्कृष्ट वर्णन ।’

यद्यपी, चमेरोबाट सर्ने कोरोना भाइरसबारे बिस्तृतमा अध्ययन गरेकी उहान ल्याबकी कोरोना भाइरस भिरोलोजिस्ट सि झिन्ग्लीले २०१२ मा मजदुरहरुमा देखिएको रोग फंगल इन्फेक्सन रहेको बताएकी छिन् । ‘ब्याटवुमन’ नामले समेत विख्यात यी भिरोलोजिस्टले गत जुनमा साइन्टिफिक अमेरिकन म्यागेजिनसँगको कुराकानीमा यस्तो धारणा राखेकी हुन् ।

लाथम भने आफ्नो रिपोर्टले चर्चा पाइरहेको बताउँछन् । ‘हामीलाई लाग्छ कि वैज्ञानिक समुदायमा यो भूमिगत रुपमा फैलिरहेको छ,’ उनी भन्छन्,‘मानिसहरुलाई लाग्छ कि यसमा सत्यता छ, तर कोरोना भाइरसलाई लिएर धेरै राजनीति भइसकेका कारण उनीहरुले यस विषयलाई सार्वजनिक गर्न डराइरहेका छन् ।’
चिनियाँ अधिकारीहरुको दाबीअनुसार गत डिसेम्बरमा उहानको समून्द्री बजारबाट कोरोना भाइरस फैलिएको हो ।