Jagaran Nepal आइतबार, साउन ३२, २०७७

मुम्बई । श्रीलंकन मूलकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज ३५ वर्षकी भइन् । २००६ को मिस युनिभर्स श्रीलंका पिजेन्टको ताजसमेत उनले जितेकी छन् । उनी मल्टी एथनिक परिवारकी सदस्य हुन् । उनका पिता श्रीलंकन र आमा मलेसियन हुन् ।

अभिनेत्री तथा मोडल ज्याकलिनले बहरिनमा पढेकी हुन् । उनले अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा आमसञ्चार विषयमा स्नातक गरेकी छन् । टेलिभिजन रिपोर्टरको अनुभव लिइसकेकी ज्याकलिनलाई विभिन्न भाषाको ज्ञान छ । उनले स्पेनिस, फ्रेन्च र अरेबिक भाषा राम्रोसँग बोल्न र लेख्न सक्छिन् ।

ज्याकलिनका पहिलो प्रेमी बहरिनका राजकुमार बिन रासिद अल खलिफा थिए । ज्याकलिनसँग ब्रेकअपपछि राजकुमारले एक गीत एल्बम रिलिज गरेका छन् जसको नाम ‘जैकी’ राखेका थिए । ज्याकलिन र सलमान निकै नजिकका साथी हुन् । सलमानले ज्याकलिनलाई बान्द्राको ३ बिएचके अपार्टमेन्टमा बस्न आग्रह गरेका थिए तर उनले अस्वीकार गरेकी थिइन् ।सौय दैनिकमा खबर छ ।

यसैबीच विश्वव्यापी रुपमा फैलिएको कोरोना कहरका कारण लगाइएको बन्दाबन्दीको समयमा अभिनेता सलमान खान आफ्नो फार्म हाउसमा बसे । उनीसँगै अभिनेत्री ज्याकलिन र उनका सहयोगीहरु पनि फार्महाउसमै बसेका थिए । अभिनेता सलमान सोमबारमात्रै आफ्नो घर फर्किए । मंगलबार अभिनेता ज्याकलिनले आफ्नो जन्मदिन मनाइन् । उनको जन्मदिनको अवसरमा निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले चलचित्रको घोषणा गरेका छन् ।

साजिदले चलचित्र ‘किक २’ बनाउने घोषणा गरेका हुन् । चलचित्रमा अभिनेत्री ज्याकलिनको साथमा अभिनेता सलमानको मुख्य भूमिका रहने जनाइएको छ । निर्माता तथा निर्देशक साजिदले चलचित्रको कथा फाइनल गरेका छन् । कथा फाइनल गरेसँगै उनकी श्रीमतीले ज्याकलिनलाई जन्मदिनमा चलचित्र नै गिफ्ट गरेकी हुन् । चलचित्रको छायांकन चाँडै नै सुरु गर्ने साजिदले बताएका छन् । अभिनेता सलमान र अभिनेत्री ज्याकलिन अभिनीत चलचित्र ‘किक’ ले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।