Jagaran Nepal शनिबार, साउन ३१, २०७७

झापा: दुई सन्तान एउटै घटनामा गुमाएको पीडा । तीन साता बितिसक्यो, हालखबर सोध्नसमेत कोही आउँदैनन् । पोखरीमा डुबेर दुई छोरा गुमाएपछि झापाको भद्रपुर–२ निवासी कमला थामीको दिनरात रोएरै बित्ने गरेको छ ।

गत साउन ७ गते मावली घर भद्रपुर–२ मा रहेका बेला उनका दुई छोरा १४ वर्षीय करण थामी र ११ वर्षीय अर्जुन थामीको कमलधाप सिमसारका लागि खनिदै गरेको पोखरीमा डुबेर मृत्यु भएको थियो । उनीहरुसँगै सोही स्थानका अनिल तामाङको १० वर्षका छोरा अङ्कुशको पनि मृत्यु भएको थियो ।

पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको भोलिपल्ट भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठसहित कमलधाप पर्यटकीय विकास समिति र पोखरी खन्ने निर्माण कम्पनीसँग मृतकका परिवारको पाँच बुँदे लिखित सहमति भएको थियो । सहमतिमा पीडित परिवारलाई रु १० लाख राहत र रोजगारी प्रदान गर्ने विषय उल्लेख गरिएको थियो तर हालसम्म सो सहमति कागजमै सीमित रहेको परिवारको आरोप छ ।

विर्तामोड नगरपालिका–९ घर भएकी कमलाका पति १० वर्ष अघि वैदेशिक रोजगारमा गए पनि उतै बेपत्ता बने । श्रीमान् बेपत्ता बनेपछि माइतीको सहारामा बस्न छोरा लिएर भद्रपुर–२ डिगाउँ पुगेकी कमला अहिले एक्लो बनेकी छिन् । अहिलेसम्म खोइ कसैले कुनै राहत दिएको छैन”उहाँले भन्नुभयो,सम्पतिको नाममा तिनै छोरा थिए, ती पनि गुमाएँ । राहत दिन बनेको समितिसमेत एकपटक फर्केर आएको छैन ।

थामी समाज झापाका अध्यक्ष मेघराज थामीका अनुसार भद्रपुर नगरपालिका, कमलधाप पर्यटकीय विकास समिति र पोखरी खन्ने निर्माण कम्पनीसँग भएको सहमतिको एउटा बुँदामा तीनै जना बालकको परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भनिएको थियो ।

अर्को बुँदामा मृतकका परिवारका एक÷एक सदस्यलाई कमलधापमा सञ्चालित परियोजनामा रोजगारीको व्यवस्था गर्ने र पुनः यस्तै घटना नदोहोरियोस् भनेर निर्माणस्थलमा सुरक्षाको व्यवस्था गर्ने उल्लेख थियो ।

सम्झौतापत्रमा भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष भीमबहादुर सुब्बा, विर्तामोड–९ का वडा सदस्य हरि चम्लागाईं र बालकृष्ण कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका राजु गिरी, तामाङ समाजका दलबहादुर लामा, थामी समाज झापाका अध्यक्ष थामी, कमलधाप पर्यटन क्षेत्र विकास समितिका राजु दाहाल, सुब्बा थामी र पूर्णबहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ ।

पीडित परिवारको अवस्था दयनीय छ, छिटोभन्दा छिटो राहत र रोजगारी प्रदान गर्न अग्रसर हुन जरुरी छ”,थामी समाजका अध्यक्ष मेघराज भन्नुहुन्छ,सहमतिका पक्षहरु कसैले पनि पछि हट्न मिल्दैन ।

भद्रपुर–२ का वडाध्यक्षसुब्बाले ३५ दिनभित्रमा राहत उपलब्ध गराउने गरी निर्माण कम्पनीसहितको बैठक बसिरहेको बताउनुभयो । उहाँले केही कानूनी प्रक्रिया पूरा गर्न बाँकी रहेको बताउँदै सहमतिलाई अक्षरशः पालना गर्ने जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले पनि राहत स्वरुप रु एक लाख सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।