Jagaran Nepal शुक्रबार, साउन ३०, २०७७

त्यही शब्द पुरुषले प्रयोग गर्दा स्वीकार्य हुने र महिलाले प्रयोग गर्दा अपमानजनक किन हुन्छ ? के यो नियम पुरुषले बनाएका हुन ? कि महिला आँफैले यस्ता नियममा बाँधेर आफैंमाथि अन्याय गरिरहेका छन् ?

केही दिन अगाडि नेपालका चर्चित राजनीतिज्ञ गगन थापा र उनकी जीवनसाथीसँगको अन्तरवार्ता युटुबमा राखिएको रहेछ । मैले हेरेँ । धेरैभन्दा धेरै हेरिएको उक्त अन्तरवार्ता विवादमा परेछ । कारण रहेछ गगन थापाकी श्रीमतीले श्रीमानलाई ‘तिमी’ र’तँ’ भनेर सम्बोधन गरिन् रे । हेपिन रे, सम्मान गरिनन् रे । धेरैले यस्तो आशयको कमेन्टहरु गरेका रहेछन् ।

अत्यधिक नकारात्मक प्रतिक्रिया आएपछि केही दिनपछि ती कमेन्टहरु हटाउन कुनै महिला सेलिब्रिटीले सम्बन्धित सञ्चारमाध्यमसँग आग्रह गरिन् । दबाब नै दिइन् । यो अर्को अतिवाद थियो । मैले जान्न चहेको कुरा, आखिर किन यस्तो हुन्छ ? आखिर के भयो त कसैले त्यो कुरा मन नपराउँदा ? किन दिनुपर्यो बिथ्थामा पत्रकारलाई धम्की ?

अंग्रेजीमा एउटै शब्द ‘यू’ भनेपछि सबैलाई समेटिन्छ । यसमा कुनै भेदभाव देखिदैँन । सम्मान वा असम्मान दुबैमा एउटै शब्द प्रयोग हुन्छ । तर नेपाली भाषाले भने किन यति ठूलो भेदभाव र समस्या निम्त्याएको छ ?

केही समय अगाडि साहित्यकार शारदा शर्मा विवादित भएकी थिइन् । आफ्ना पुस्तक र पत्रिकामा प्रकाशित केही लेखहरुमा उनले श्रीमान नरहरी आचार्यलाई ‘तिमी’ ले सम्बोधन गरेकी थिइन् । यसपश्चात उनलाई श्रीमानलाई हेपेको आरोप लागेको थियो ।

यस्ता धेरै उदाहरणहरु हाम्रो नेपाली समाजमा रहेका छन् जसमा आफ्नो जीवनसाथिलाई तिमी र तँ भनेर सम्बोधन गर्दा आलोचित हुनु परेको छ । धेरैजसो सेलिब्रेटीहरु आफ्नो श्रीमान र श्रीमतीलाई बोलाँउदा तिमी र तँ भन्ने गर्छन् । कमैले मात्र तपाईं, हजुर भन्छ्न् । तर आलोचना खेप्नु नपरोस् भनेर मिडिया तथा सार्वजनिक समरोहमा बोल्दा भने उनीहरु पनि श्रीमानलाई हजुर र तपाईं भनेर बनावटी सम्मान दिइरहेका हुन्छन् । उनीरुको यो सम्वोधन अस्वाभाविक सुनिन्छ । स्वःस्फूर्त बोलेको कुरा र जबरजस्ति बोलेको कुरा प्रस्टै थाहा पाइन्छ ।

मैले बुझ्न नसकेको कुराचाहिँ किन मान्छेहरु अरुको आलोचना र मुल्यांकनसँग डराउँछन । आफू जे होइन, त्यहीरुपमा किन प्रस्तुत गर्छन् स्वयम्लाई ? आखिर के भो त अरुले आलोचना गरेर ? यो त आफुलाई स्वीकार गर्न नसक्नु होइन र ? यस्ता अनगिन्ती उदाहरणहरु छन् हाम्रो समाजमा जहाँ आफ्नै विचारहरु मात्र लादेर अरुलाई आलोचना र गालीगलोज गरिन्छ ।

कुनै जमाना थियो थाहै नपाइकन केटीको बिहे गराइन्थ्यो । उनले आफ्नो हुनेवाला दुलाहालाई विवाहअघि हेर्न पनि पाउँदिनथिइन् । समाज र घर परिवारले जे सिकायो, जे गर्न लगायो त्यही गर्न बाध्य थिए महिलाहरु । श्रीमान् र श्रीमती एक-आपसमा अरुको अगाडि बोल्न नहुने, हात सामाएर हिँडडुल गर्न नहुने, मायाप्रेम साट्न नहुने जस्ता टन्नै अनौपचारिक नियम-कानुन लादिएका थिए । महिलाहरु कुनै तर्क-वितर्क नगरी यस्ता नियमको पालना गर्थे पनि । उनीहरुलाई लाग्थ्यो कि ती सबै सही हुन् । श्रीमान भनेको भगवान् नै हो । उनीहरु श्रीमानसँग ठूलो स्वरले त के आँखामा हेरेर बोल्न पनि सक्दैन थिए । तर समय परिवर्तन भएसँगै विज्ञान र प्रविधिको चामत्कारिक विकास भयो । पश्चिमा-संस्कृतिको प्रभाव नेपाली समाजमा पनि देखिन थाल्यो । श्रीमान-श्रीमतीको व्यवहार र सम्बोधन गर्ने कुरामा पनि धेरै हद्सम्म परिवर्तन त आयो, तर यो सीमित क्षेत्र र सीमित मान्छेहरुमा मात्र देखिन्छ । आमरुपमा महिलाहरु पुरानै स्थितिमा छन् ।

आजकालको युवा-युवतीलाई प्रेममा पर्न कुनै महाभारत छैन । प्रविधिको विकाससँगै हलिवुड, बलिवुड चलचित्रको प्रभावले गर्दा क्षणभरमा एक-अर्काप्रति आकषिर्त हुन्छन् । सुरुमा साथी हुँदा एक-अर्कालाई तँ वा तिमीको प्रयोग गर्छन् । त्यहाँ कुनै सीमाको बार लगाइएको हुँदैन । अझ कतिपय अवस्थामा त केटाहरुले केटीहरुलाई ‘हृया तपाईं नभन’, ‘तँ भन’ ‘तिमी भन’ तपाईं भन्दा कस्तो बुढो फिल हुन्छ यार भनेर भन्ने गर्छन् । तर जब उनिहरु एक -आपसमा माया प्रेममा धेरै डुब्छन र आफ्नो सम्बन्धलाई संस्थागत गर्ने निर्णय गर्छन् र विशेषगरी केटाहरुले नियमहरु बनाउन सुरु गर्छन् । मलाई सबको अगाडि तिमी नभन है, मलाई तँ भन्ने होइन नि । मलाई त हजुर, तपाईं भन्नुपर्छ ।

अनि केटीको कुरा आउँछ । के भो त, तिमीभन्दा सम्मान हुँदैन र ? पहिले त हुन्थ्यो त । केटा भन्छः नाइँ अरुले कुरा काट्छन् । अनि केटीको केही लाग्दैन । कतिपय अवस्थामा त केटीहरुले प्रतिप्रश्न नै नगरी श्रीमानसित सहमति व्यक्त गर्दछन् ।

धेरैजसो अवस्थामा महिलाहरु आफैले नियम-कानुन बनाएर आफुलाई त्यसभित्र बाध्छन् भने कतिपय अवस्थामा घर-परिवारबाट तपाईं, हजुर भन्नुपर्छ भनेर सिकाइएको हुन्छ । एकजना बैनी जसले प्रेमविवाह गरेकी थिइन्, उनी आफ्नो श्रीमानलाई तिमी भनेर सम्बोधन गर्थिन् । उनका श्रीमानले पनि उनलाई तिमी भनेर बोलाउँथे । उनीहरु एकअर्कामा निकै खुशी देखिन्थे । तर घर-परिवारले श्रीमतीले तिमी भनेको कुरा अपाच्य भयो भनेपछि तपाईं भन्न लगाइयो र उनले स्विकारिन् पनि । तर, श्रीमानले चाहिँ तिमी नै भन्छन् ।

श्रीमान र श्रीमती जीवनसाथी हुन् । दुई रथका पांग्रा हुन् । अभिन्न अङ्ग हुन् । दुवैजना मिलेर एक-अर्कालाई दुखसुखमा साथ दिँदै जिन्दगी चलाऊने यात्री हुन् । उनीहरुको बीचमा कुनै भाषिक बन्देज अपरिहार्य नै हुन्छ त ? तिमी वा तपाईंको सम्वोधनले मात्रै मान्छेको सम्मान र अपमानको निर्धारण हुँदैन । मान्छेको व्यावहारले सबैथोक निर्धारण गर्दछ । जति मिठो बोले पनि व्यवहारमा फिटिक्कै माया छैन भने के अर्थ रहृयो ? मेरो बुझाइमा जति आफूलाई सहज हुने भाषा प्रयोग गरिन्छ त्यति नै माया बढी हुन्छ, सबै कुरामा सहजता हुन्छ ।

गीतसंगीतमा माया व्यक्त गर्दा तिमी शब्दकै प्रयोग गरिएको पाईन्छ । केटाले पनि केटीले पनि तिमी नै भन्छन् र त्यही मिठो सुनिन्छ । तपाई, हजुरले सम्वन्धमा बनावटीपन ल्याइदिन्छ । त्यसकारण श्रीमान-श्रीमतीको सम्वन्धको मर्म बुझौं र आफूलाई सहज हुने भाषा प्रयोग गरौं । अरुलाई देखाउन वा लोकलाजको डरले आफैंलाई भाषिक दमनमा नपारौ ।