Jagaran Nepal शुक्रबार, साउन ३०, २०७७

काठमाडौं । मानवलाई अन्य जीवभन्दा भिन्न देखाउने गुणमा अनुहार छुने स्वभाव पनि हो।आफूले थाहै नपाई अनुहार छोइराख्ने स्वभाव भएको सम्भवतस् हामी एकमात्र प्रजाति हौँ।त्यो स्वभावले कोरोनाभाइरस (कोभिड-१९) जस्ता रोग फैलाउन सघाउँछ।हामी किन यस्तो गर्छौँ र हामीले यस्तो स्वभाव कसरी हटाउन सकिन्छ हाम्रो बानी कस्तो छ ?हामीले बारम्बार आफ्नो अनुहार छोइराखेका हुन्छौँ।

सन् २०१५ मा अस्ट्रेलियामा चिकित्साशास्त्रका विद्यार्थीहरूको स्वभावको अध्ययन गरियो। त्यति बेला उनीहरूमा समेत अनुहार छोइराख्ने बानी रहेको पाइयो।चिकित्साशास्त्रका विद्यार्थीहरू जोखिमबारे अरूभन्दा बढी सचेत हुनुपर्ने हो।तर सहभागीहरूले एक घण्टामा कम्तीमा २३ पटकसम्म आफ्नो मुख, नाक वा आँखा छोएको पाइयो।विज्ञहरूका अनुसार त्यसरी अनुहार छोइराख्ने बानी खतरनाक हुन सक्छ।कोभिड-१९ बाट जोगिन हामीले आफ्ना हातलाई विश्राम दिने, धेरै नचलाउने र धेरै सफा गरिरहने सुझाव दिइएको छ।

हामी किन बारम्बार अनुहार छुन्छौँ ?मानव र वानर प्रजातिका केही सदस्यले हात नचलाई बस्नै नसक्ने गरेको पाइएको छ। हामी त्यसैगरी बनेका हुन सक्छौँ।केही प्रजातिले अनुहार राम्रो बनाउन वा कीरा धपाउन अनुहारमा हात लैजाने गर्छन्।मानव र केही वानरजातिले विभिन्न कारणले अनुहारमा हात लगिरहन्छन्।

यूसी बर्कलीका मनोविज्ञानका प्राध्यापक ड्याचर केल्ट्नरका विचारमा अनुहारलाई सहज बनाइराख्न हामीले हात प्रयोग गर्ने गरेका हुनसक्छौँ। तर अरू बेला हामीले थाहै नपाई अनुहार छोएर ‘जिस्किने वा सामाजिक नाटकको एक चरणबाट अर्को चरणमा प्रवेश गरिरहेका हुन्छौँ।’अन्य विज्ञहरूले हामीले आफैँलाई छोएर आफ्ना संवेग र ध्यानलाई नियन्त्रणमा लिन खोज्ने गरेको निष्कर्ष निकालेका छन्।

लाईप्सिग विश्वविद्यालय जर्मनीका मनोवैज्ञानिक एवं प्राध्यापक मार्टिन ग्रुन्वाल्ड भन्छन्, ‘यो हाम्रो प्रजातिको आधारभूत स्वभाव नै हो।’‘आफैँलाई छुने स्वभाव कसैले कुनै सन्देश दिनको लागि बनाएको होइन, यो त प्रायस् थाहै नपाई हुने गर्छ,’ ग्रुनवाल्डले भने।’यो स्वभावले हाम्रो सबै चेतनशील र संवेगात्मक प्रक्रियामा प्रमुख भूमिका खेल्छ। यो सबै मानिसमा हुने गर्छ।’

आफैँलाई छुने यस्तो स्वभावको एउटा समस्या के हो भने हाम्रा आँखा, नाक र मुखबाट खराब वस्तु वा कीटाणु सहजै हाम्रो शरीरभित्र पस्न सक्छ। उदाहरणका लागि कोरोनाभाइरस कुनै सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा ससाना बिन्दुको रूपमा नाक वा मुखबाट सहजै प्रवेश गर्न सक्छ।हामीले त्यो भाइरस रहेको कुनै वस्तु वा सतहमा छोयौँ भने पनि सङ्क्रमण हुन सक्छ। बिबिसी