Jagaran Nepal बुधबार, साउन २८, २०७७

काठमाडौ । रुसले कोरोना भाइरस विरुद्धको खोप निर्माण गरेको दावी गरेको छ । कोरोनाको खोप निर्माण भएर प्रमाणीत समेत भइसकेको जनाएको रुसले त्यसका माग विश्वभरवाट आउन थालेको पनि बताएको छ । मंगलवार रुसका राष्ट्रपति भ्लादमिर पुटिनले कोरोना विरुद्धको खोप निर्माण भएको सार्वजनिक गरेका हुन् । रुसले आफ्नो देशमा निर्मित कोरोना खोपको १ अर्ब मात्रा (डोज) को माग विश्वभरवाट भइरहेको जनाएको छ । रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआइएफ) ले २० देशबाट उक्त परिमाणमा खोपको माग आएको दाबी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

रुसले कोरोना विरुद्धको खोपलाई ‘स्पुतनिक पाँचौं’ नाम दिएको जनाएको छ । आरडीआइएफका प्रमुख किरिल दिमित्रेभले विदेशी लगानीकर्तासँग मिलेर ५ वटा देशमा प्रतिवर्ष ५० करोड डोज खोप उत्पादन गर्ने योजना समेत बनाइसकेको बताएक छन् ।उनले खोप खरिद बिक्रीका लागि सम्झौताको काम पनि सुरु भइसकेको जनाएका छन् । उनले ल्याटिन अमेरिका, मध्यपूर्व र एशियाली मुलुकहरुले खोप प्रति चासो देखाएको र केही मुलुकसंग खरिदका लागि सम्झौता समेत हुने अन्तिम चरणमा पुगेको बताएका छन् ।

यद्यपि खोपले महत्वपूर्ण तेस्रो चरण पार गर्न बाँकी रहेको सीएनएनले जनाएको छ। खोपको सुरक्षा र प्रभावकारिता गाँसिएको यो चरणमा हजारौं मानिसलाई परीक्षणमा सामेल गराइन्छ। आरडीआइएफ प्रमुख दिमित्रेभले यस्तो परीक्षण विदेशमा हुने बताए। युएई, साउदी अरब र अन्य कैयौं मुलुकका साझेदारसँग मिलेर यस्ता परीक्षण गर्ने सम्झौता हुन लागेको पनि उनले बताए। तर यता विश्व स्वास्थ्य संगठनले भने रुसले उत्पादन गरेको खोप आफै प्रमाणीत गरेर नहुने बताएको छ । विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार त्यसको परिक्षण पछि संगठनले प्रमाणीत गर्ने र अनि मात्र आधिकारीक हुने बताएको छ । रुसले आफै प्रमाणीत गरेर हुँदैन विश्व स्वास्थ्य संगठनले भनेको छ, संगठनले त्यसलाई आधिकारीकता दिँदैन । (एजेन्सी