Jagaran Nepal मंगलबार, साउन २७, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि अग्र पंतिमा रहेर काम गरिरहेका १ सय ८३ जना स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका गरी १ सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित हुने स्वास्थ्यकर्मीमा महिला ६० र पुरुष १ सय २३ जना छन् ।

संक्रमित स्वास्थ्यकर्मीमध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ का छन् । प्रदेश नम्बर २ मा २० महिला र ५८ पुरुष गरी ७८ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा १३ महिला र १४ पुरुष गरी २७, कर्णाली प्रदेशमा ६ महिला र १६ पुरुष गरी २२, गण्डकी प्रदेशमा ६ महिला र १४ पुरुष गरी २० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै, बागमती प्रदेशमा ८ महिला र ८ पुरुष गरी १६, प्रदेश नम्बर ५ मा ६ महिला र ६ पुरुष गरी १२ र प्रदेश नम्बर १ मा १ महिला र ७ पुरुष गरी ८ जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

तस्वीर– प्रतिकात्मक