Jagaran Nepal मंगलबार, साउन २७, २०७७

विराटनगर । समुदायमै कोरोना फैलिएको विराटनगरमा अहिले कोरोनाकै कारण त्यसको ब्यवस्थापनमा निकै समस्या भएको छ । फरक फरक ल्यावमा गरिएको परिक्षणमा एउटै ब्यक्तिको स्वावको परिक्षण फरक आएपछि अहिले विराटनगरमा तनाव भएको छ । एउटा अस्पतालले कोरोना रिपोर्ट नेगेटिभ र अर्को अस्पतालको ल्यावमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । विराटनगर महानगरपालिका–१० का ६३ वर्षीय पुरुषको रिपोर्ट अलग अलग आएको हो ।

एउटा ल्याबवाट नेगेटिभ रिपोर्ट आएपछि परिवारलाई अस्पतालले शव जिम्मा दियो तर अर्को ल्याववाट रिपोर्ट आउँदा पोजेटिभ आयो । पछिल्लो रिपोर्ट आउँदा सम्म परिवारका सदस्यले उनको शव जिम्मा लिइसकेका थिए । बिहीबार कोशी अस्पतालको फिबर क्लिनिकमा कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरियो। तर उनलाई त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो। उनको त्यहाँ पनि कोरोना परिक्षण गरियो ।

तर उनको धरानमै उपचारका क्रममा निधन भयो । धरामवाट पनि उनको स्वाव परिक्षणका लागि प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा पठाइयो । तर दुईवटा प्रयोगशालाबाट अलग–अलग रिपोर्ट आयो। कोशी अस्पतालको प्रयोगशालाबाट पोजेटिभ र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट नेगेटिभ आयो। रिपोर्ट नेगेटिभ आएपछि बीपी प्रतिष्ठानले शव परिवारलाई जिम्मा दिएको थियो ।

प्रदेश १ का दुईवटा प्रयोगशालाको पीसीआर रिपोर्ट फरक–फरक आए पनि परिवारका सदस्यले उनको शव बुझेर ल्याए र अत्येष्टी गरे। त्यतीबेला ठूलो संख्याका मलामी सहभागी भए । तर प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार ती पुरुषको निधन कोरोनाकै कारण भएको पुष्टि गरेपछि अन्तिम संस्कारमा सहभागीहरु अहिले तनावमा छन्।