Jagaran Nepal सोमबार, साउन २६, २०७७

काठमान्डौ – नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यसैगरी काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको आज मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

उपत्यकामा ४४ सङ्क्रमित भेटिए

मुलुकका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ४३४ नमूना परीक्षणमा आज कुल ३३८ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । आज सबैभन्दा बढी बाँकेमा ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडौँ उपत्यकामा ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्युठानमा १५÷१५, धनुषामा १३, कपिलवस्तुमा ११, कैलाली र सल्यानमा सात÷सात, सिन्धुलीमा छ, दाङमा पाँच, नुवाकोटमा चार, महोत्तरी, बारा र गोरखामा तीन÷तीन, खोटाङ, तनहुँ, बर्दिया र नवलपरासी पूर्वमा दुई÷दुई तथा झापा, सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, बैतडी र बझाङमा एक÷एक सङ्क्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १४० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ४९३ पुगेको छ । जुन ७०.७ प्रतिशत हो । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ७३८ रहेको छ । पर्सा, रौटहट, महोत्तरी र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिमा रहनेको सङ्ख्या १० हजार ७५९ छ । विश्वभर आजसम्म दुई करोड २६ लाख ४३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सात लाख ३४ हजार २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनालाई जितेर निको हुनेको सङ्ख्या एक करोड २९ हजार ७८ रहेको छ ।

अध्यागमन विभागको अत्यावश्यकबाहेकका सेवा बन्द

अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको छ । विभागले प्रवेशाज्ञा ‘भिसा’ सेवा केही समयको लागि बन्द गरेको छ ।

कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उहाँसँग सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई पनि होम आइसोलनमा राखिएको निर्देशक तिवारीले बताउनुभयो । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित सञ्चालनमा रहेको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत गौलोचन सैँजुले विमानस्थलको अध्यागमन सेवा समान्वयरुपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

जनकपुरधामका मृतकमा कोरोना पुष्टि

जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएको सोही अस्पतालका सुरक्षा गार्डसमेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै औषधि खाइरहेको अवस्थामा आइतबार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पु¥याउने बित्तिकै उनको मृत्यु भएको थियो । उनको आइतबार नै दाहसंस्कार गरिसकिएको छ ।

त्यसैगरी काब्या हस्पिटलमा मृत्यु भएको शहीदनगर नगरपालिकाका पुरुषमा भने कोरोना सङ्क्रमण पुष्टि भएको छैन् उनको स्वाब नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनी मुटु र दमका रोगी थिए । काब्या अस्पतालले पनि उनमा कोरोनाको कुनै लक्षण नरहेको दाबी गर्दै आएको थियो । उनको पनि परिवारजनको जिम्मा लगाएर दाहसंस्कार भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिनुभयो ।

उपत्यका प्रवेशमा रोक्न साँगा नाकामा कडाइ

विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हँुदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिनुभयो । साँगा र बनेपाबाट नाला हँुदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकललगायत अत्यावश्यक सवारी साधनबाहेक अरूलाई रोक लगाएको उहाँको भनाइ छ ।

विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको बताउँदै प्रनाउ जोशीले पैदल यात्रीलाई समेत रोक लगाएको बताउनुभयो । उहाँले साँझ ७ देखि बिहान ७ बजेसम्म एम्बुलेन्स र दमकलबाहेकका सबै प्रकारका यातायातका साधनलाई प्रवेशमा रोक लगाएको बताउनुभयो । पास भएका सवारी साधन पनि साँझ ७ बजेदेखि प्रवेश गर्न पाउने छैनन् ।

ढुवानीका साधन भने राति १० देखि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाउनेछन् तर ढुवानीका साधनमा पनि एक चालक र एक सहचालकबाहेक अरू व्यक्ति रहेको पाइए प्रवेशमा रोक लगाइने प्रनाउ जोशीले बताउनुभयो ।

प्हरीले राति ९बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ । राति ९ देखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाएको छ । प्रनाउ जोशीले भन्नुभयो, “राति ९ देखि बिहान ५ बजेसम्म तोकिएको बाहेक कुनै पनि यातायात सञ्चालन गर्न पाइने छैन, त्यो अवधिमा पैदल यात्रीलाई समेत हिँड्डुल गर्न रोक लगाएका छौँ, त्यसैले ९बजेभित्र सबैजना आ–आफ्नो घर पुगिसक्न आग्रह गर्दछौँ ।” ९ बजेपछि कुनै पनि पसल, होटल, रेष्टुरेष्ट सञ्चालनमा रोक लगाइएको छ । काभ्रेबाट उपत्यका प्रवेश गर्नेको हकमा नागरिकता वा परिचयपत्र वाहकलाई मात्र प्रवेश गर्न दिएको छ ।

केही दिनअघि नमूनाका रुपमा साँगा नाकाबाट प्रवेश गर्ने ६३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकालाई कडाइ गरिएको हो । लकडाउन खुलेसँगै विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत रहेको छ ।