Jagaran Nepal आइतबार, साउन २५, २०७७

काठमाडौं । अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसको सतहमा हुने स्पाईक प्रोटीनमा भएको परिवर्तन नियालिरहेका छन् ।

अहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोना भाइरसमा सयौँ म्यूटेशन अर्थात् आनुवंशिक संरचनामा हुने परिवर्तन देखिएको अमेरिका तथा यूकेका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । तर, तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनुमा तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट छैन ।

भाइरसहरूमा उत्परिवर्तन अर्थात् आनुवंशिक संरचनामा परिवर्तन भइरहन्छ । तीमध्ये कुन परिवर्तनले भाइरसको सङ्क्रमणशक्ति र रोगको सघनतामा प्रभाव गर्छ भन्ने प्रश्न महत्वपूर्ण हो ।

अमेरिकामा गरिएको एउटा प्रारम्भिक अध्ययनले D614G नाम दिइएको उत्परिवर्तन प्रमुख रहेको र त्यसले रोगलाई अझ सङ्क्रामक बनाउन सक्ने सङ्केत गरेको छ ।उक्त अध्ययन अरू वैज्ञानिकबाट समीक्षा हुन तथा जर्नलमा प्रकाशित हुन बाँकी छ ।

न्यू मेक्सिकोस्थित लस एलमो राष्ट्रिय प्रयोगशालाले कोरोनाभाइरसको सतहमा हुने स्पाईक प्रोटीनलाई नियालिरहेका छन् । उक्त प्रोटीनका कारण कोरोनाभाइरसको स्वरूप भिन्न देखिन्छ ।

उनीहरूले ग्लोबल इनिशीअटिभ अन शेअरिङ अल इन्फ्लूएन्जा डेटा (SARS-CoV-2) नामक डेटाबेस प्रयोग गरेका छन् । उनीहरूले यही उत्परिवर्तनका कारण कोरोनाभाइरस चाँडै फैलिएको हुन सक्ने बताएका छन् । तर यसको परिणाम अझै अस्पष्ट छ ।

अनुसन्धानकर्ताहरूको उक्त टोलीले यूकेको शेफील्डमा बिरामीबाट सङ्कलित डेटाको पनि विश्लेषण गर्यो । उत्परिवर्तन भएको विषाणु फेला परेका बिरामीबाट सङ्कलित नमुनामा धेरै कोरोनाभाइरस पाइएको भए पनि ती मानिस धेरै बिरामी भएको वा लामो समय अस्पताल बस्नुपरेको प्रमाण भेटिएन ।

यूनिभर्सिटी कलेज लन्डनले गरेको अर्को अध्ययनले कोरोनाभाइरसमा १९८ वटा उत्परिवर्तन भएको पत्ता लगायो । उक्त अध्ययनमा सहभागी वैज्ञानिक प्राध्यापक फ्रान्स्वाँ बलोले भने —उत्परिवर्तन आफैँमा नराम्रो कुरा हैन। अनि lsG5 eGg ( नयाँ कोरोनाभाइरसको वैज्ञानिक नाम) मा छिटो वा ढिलो उत्परिवर्तन भइरहेको सङ्केत गर्ने कुनै आधार छैन ।

उनका अनुसार उक्त भाइरस धेरै वा थोरै घातक तथा सङ्क्रामक हुँदैछ भन्ने स्थितिमा हामी छैनौँ । यूनिभर्सिटी अफ ग्लास्गोमा गरिएको अर्को अध्ययनमा उत्परिवर्तनहरूका कारण नयाँ किसिमका भाइरस बनेका छैनन् । अहिले फैलिएको कोरोनाभाइरस एउटै किसिमको भएको त्यहाँका अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

भाइरसमा हुन ससाना परिवर्तनको जानकारी पनि खोप विकासका लागि महत्त्वपूर्ण मानिन्छ । फ्लू गराउने भाइरसमा यति चाँडो उत्परिवर्तन हुन्छ कि त्यसबाट बन्ने फरक किसिमको भाइरसका लागि प्रत्येक वर्ष नयाँ खोप बनाउनुपर्ने बाध्यता हुन्छ ।

अहिले निर्माणको चरणमा भएका अधिकांश कोभिड १९ खोपहरूले कोरोनाभाइरसको स्पाईक अर्थात् काँडाजस्तो अवयवलाई लक्षित गरेका छन् । यो अवधारणामा मानिसको शरीरमा उक्त अवयवको एउटा विशिष्ट तत्वलाई चिन्ने गुण विकास गराएर उक्त भाइरसलाई निष्क्रिय पार्न सकिन्छ भन्ने छ । स्पाईकमा परिवर्तन भइरहे अहिले बनाउन लागिएको खोप कम प्रभावकारी भइदिन सक्छ । तर अहिले सबै कुरा सिद्धान्तको तहमा छन् ।

उक्त भाइरसको आनुवंशिक संरचनामा परिवर्तन हुँदा के हुन्छ भन्ने पर्याप्त जानकारी अहिले उपलब्ध छैन । बिबिसी