Jagaran Nepal आइतबार, साउन २५, २०७७

काठमाडौँ । कोरोनाभाइरसका ३८० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमित सातहजार ५४४ रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा ४० जना कोरोनामुक्त भएर घर फर्केका जनाएको छ । हालसम्म १६ हजार ३५३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विगत २४ घण्टामा जनामा आठ हजार आठ सय १५ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो। अब नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। गौतमले नेपालभर गरी क्वारेन्टिनमा ११ हजार ३८ जना रहेको बताए। विगत २४ घण्टामा कोरोना निको भएर ४० जना घर फर्किएका छन्। अहिलेसम्म १६ हजार तीन सय ५३ जना कोरोना निको भइसकेका छन्। कोरोनाबाट नेपालमा ७५ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई संक्रमण देखिएको यो पहिलो पटक हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीन कर्मचारीलाई संक्रमण देखिएको बताए। एक चालक र २ कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हाे। शुक्रबार मन्त्रालयमा ८१ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। तीमध्ये ४ जनाकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे हाे।