Jagaran Nepal आइतबार, साउन २५, २०७७

काठमाडौं । कोरोना संक्रमण जोखिम रोकथाम तथा नियन्त्रण गर्न आइतबारबाट काठमाडौँ उपत्यकामा ‘जोर–बिजोर’ सवारी सञ्चालनमा कडाइ गरिने भएको छ । उपत्यकामा बिहीबारबाट पुनः जोर–बिजोर लागू गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुनेछन् । ती जिल्लाका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन नागरिकमा आग्रह गरेका छन् ।

स्वास्थ्य सतर्कतामा लापरबाही, भीडभाड र असुरक्षित आवागमनका कारण उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको स्पष्ट पार्दै काठमाडौँका प्रजिअ दाहालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी स्वास्थ्य सतर्कता सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । उहाँले यस विषयमा उपत्यकामा तैनाथ सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायसँग छलफल भइसकेको छ । जोर–बिजोर कडाइका साथ लागू हुनेछ भन्नुभयो ।

नागरिकको बाक्लो भीड लाग्ने सरकारी तथा गैरसरकारी कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुख तथा पदाधिकारीलाई कोभिड–१९ सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड पूूरा गरी आवश्यक सतर्कता अपनाई सेवाग्राहीलाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, महानगरपालिका तथा नगरपालिका स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रदेखि वडा स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सक्रिय तुल्याई घरदैलो सचेतना जागृत कार्य सुरु गरिएको छ । गोरखापत्र दैनिकबाट