Jagaran Nepal शनिबार, साउन २४, २०७७

गुलरिया । बर्दियामा पनि समुदाय स्तरमै कोरोना फैलिएको निष्कर्ष स्थानियले तहल निकालेको छ । समुदायमा कोरोना भाइरस पुष्टि भएपछि शनिवारवाट बर्दियामा पनि निषेधाज्ञा जारी गरिएको छ । बर्दियामा बैंक कर्मचारी, जनप्रतिनिधि र थुनुवामा समेत कोरोना पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले तत्काल पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले समुदाय स्तरमै कोरोना फैलिएको निष्कर्ष सहित निषेधाज्ञा जारी गरिएको बताए । बर्दियाको बाँसगढीस्थित बैंकका कर्मचारी, वडाअध्यक्ष तथा गेरुवा गाउँपालिकामा एकजना थुनुवामा कोरोना पुष्टि भएको हो ।

ट्राभल हिष्ट्रि नभएकाहरुमा पनि कोरोना देखिएपछि कोरोना समुदायमा फैलिएको निष्कर्ष जिल्ला प्रशासन कार्यालयले निकालेको हो । साउन २५ गते आइतवारदेखि २९ गते बिहीवार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गर्ने जिल्ला कोभिड—१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार सूचना सार्वजनिक गरिएको छ । निषेधित अवधिभर औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यकबाहेक कुनैपनि व्यक्ति घरबाहिर निस्कन पाइने छैन।

कोरोना भाइरस फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदायस्तरमा कोरोना फैलन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार साँझ बसेको बैठकको निर्णयानुसार जिल्लाको मुख्यमुख्य बजार क्षेत्र, बाहिरी जिल्लासँग सीमा जोडिएका नाका क्षेत्र, सडक मार्गको पहुँच भएको स्थानमा आज मध्यराति १२ बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा लगाइएको छ।

स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा नुवाकोटको विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र तोकिएको छ।

यसैगरी बेलकोटगढी नगरपालिकाको वडा नं ५, ७, ८, १०, ११, १२ र १३ वडाको सबै क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ को सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाकाको वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा आज रातको १२ बजदेखि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं नुवाकोटका प्रजिअ ढकालले जानकारी दिए।