Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

काठमाण्डौ – कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षासम्बन्धी सेवाबाहेकका अन्य सेवा तत्कालका लागि स्थगन गरेको छ । आज काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाको बैठकले शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य जारी रहने जानकारी दिएको छ ।

यस्तै नयाँ नेपाली नागरिकता वितरण, नागरिकताको प्रतिलिपी वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता पत्रपत्रिका दर्ता साथै नवीकरण, निजी सुरक्षा, कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिक परिचय पत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा तत्कालका लागि स्थगन गरिएको जनाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी अनिवार्यरुपमा मास्कको प्रगोग गर्नुपर्नेछ । यस्तै परिसरभित्र स्यानिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले नियमित हात धुनुपर्ने व्यवस्था गरिएको छ । अनावश्यक भीडभाड नगरी सामाजिक दूरी कायम गर्नसमेत आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेका अनुसार कोरोनाको जोखिम बढेका कारणले यही साउन २५ गतेदेखि आगामी भदौ ८ गतेसम्म नियमित अत्यावश्यकीय सेवाबाहेकका अन्य काम कारवाही हाललाई स्थगन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा श्यया उपकरण र स्वास्थ्यकर्मी अभाव हुनसक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कोरोनाको औषधि पत्ता नलागी सकेको भन्दै सबै अस्पतालले चिकित्सकलाई सिफ्टअनुसार मिलाएर काम गराउन आग्रह गरे ।

मन्त्रालयले सरकारी, सामुदायिक तथा अफिसमा बैठक, गोष्ठी, सेमिनारलगायत अन्य जमघट तत्काल बन्द गर्न र गर्नै परेमा भर्चुअल बैठक गर्न आग्रह गरेको छ । भारतीय सीमा क्षेत्रका जिल्लामा कोभिड सङ्क्रमण उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिका, गैरसरकारी संस्था, राजनीतिक नेता तथा कार्यकर्ता, शिक्षक तथा अन्य पेसा व्यवसायका व्यक्तिलाई सावधानी अपनाउन तथा स्वाब सङ्कलनपछि रिपोर्ट नआउँदासम्म अनिवार्य क्वारेन्टिनमा बस्न पनि मन्त्रालयले अपिल गरेको छ ।

कोभिड–१९ को कुनै पनि उपचार पत्ता लागेको छैन । औषधि, अक्सिजन र भेष्टिलेटरले सहयोग मात्र गर्ने हो रोगको उपचार नगर्ने भएकाले उचित उपाय भनेको नै रोग लाग्न नदिनु यो यसका लागि बेलैमा सचेत हुन सङ्क्रमण बढ्दै गएमा अस्पताल र स्वास्थ्यकर्मीले धान्न नसक्ने र अकालमा मृत्यु हुनसक्ने अवस्था आउने भएकाले सचेत रहन आग्रह गरे ।

आज मध्यरातबाट असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिने

लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका लगाएत वीरगन्जमा कोरोना संक्रमितको संख्या दिनहु उकालो लाग्ने क्रममा छ । उपत्यकामा समेत दिनहु दजनौँ कोरोना संक्रमित बढेपछि मानिसको अत्याधिक भीड हुने क्षेत्रहरु सिल गरिने भएको छ । उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिने भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गर्ने बताएको छ । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमित भेटिएका तथा अति जोखिम क्षेत्रहरु सिल गर्ने निर्णय गरेको हो ।