Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

काठमाडौँ । टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल गर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकारीबीच बसेको बैठकले सो निर्णय गरेको हो । यस्तै, नागरिकता र पासपोर्ट वितरण कार्य समेत बन्द गर्ने जनाइएको छ । यी तीन जिल्लामा संक्रमण देखिएका सबै ठाउँ सिल गर्ने बैठकले जनाएको छ ।
बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने भएको छ । यस्तै, तीन वटै जिल्लामा रहेका क्वारेन्टिन र आएसोलेसन पनि थप सुरक्षित बनाउने जनाइएको छ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै थप १०६ जना कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंका ८८ जना, भक्तपुरका ८ जना र ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँका मुख्य व्यापारीक क्षेत्र समेत सिल गरिएको हाे । शुक्रबार मात्रै महाबौद्धका थप तीन व्यापारीमा संक्रमण देखिएको छ ।बैठकका अनुसार आज मध्यरातबाट उक्त क्षेत्र सिल गरिने भएको छ । काठमाडौँमा मात्रै दिनहुँ दर्जनौँ संक्रमित फेला परिरहेका छन् । जसले काठमाडौँ जोखिममा रहेको पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४६४ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ७० जनाको मृत्यु भइसकेको छ ।

याे पनि पढ्नुहाेसः
कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि १५ दिनका लागि सट डाउनु हुने भएको छ । आगामी आइतबारदेखि लागु हुनेगरी सट डाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सट डाउनको निर्णय गरेको हो । बैंठकले आइतबारदेखि लागु हुनेगरी १५ दिनको लागि सटडाउनको निर्णय गरेको हो ।

सटडाउन अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने छ । जिल्ला प्रशासन कार्यलयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले जानकारी दिनुभयो ।

बैंठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइको साथ पालना गराउने र स्थानीय तहहरुलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि गरेको दाहालले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गरिएको दाहालले बताउनुभयो ।

सरकारी कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सेवा बन्द रहने छन्, भने आंशिक कार्यलय खोलेर अत्यावश्यक सेवाहरु दिने निर्णय भएको हो ।

सट डाउन भित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्यलयहरुमा कम आवतजावत गर्नका लागि आग्रह गरिएको छ ।