Jagaran Nepal शुक्रबार, साउन २३, २०७७

काठमाडौं । दशैंयता विद्यालय तथा विश्वविद्यालय नखुल्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काल विद्यालय खोल्ने स्थिति नभएको बताएपछि दशैंयता विद्यालय नखुल्ने स्पष्ट भएको हो ।

‘जोखिम बढेकाले विद्यालय तत्काल खोल्ने स्थिति छैन,’ डा. खतिवडाले मन्त्रिपरिषदको सोमबार बसेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘जोखिम बढ्दैछ सावधानी अपनाउनुपर्ने हुन्छ ।’ उनले सकेसम्म घरबाहिर ननिस्कन पनि आग्रह गरे ।

यसअघि सरकारले १ भदौबाट विद्यालयको भर्ना शुरु गर्ने निर्णय गरेको थियो । भर्ना शुरु गर्ने निर्णयसँगै विद्यालयमा पठनपाठन हुनसक्ने भन्दै सक्रियता बढेको थियो । तर, सरकारका तर्फबाट पछिल्लो धारणासँगै विद्यालय दशैंयता नखुल्ने निश्चितप्रायः भएको छ ।

त्यस्तै खतिवडाले तत्काल देशभर बन्दाबन्दी नहुने स्पष्ट पारेका छन्। मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ बन्दाबन्दी गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन्।उनले जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्ला स्तरबाट सेवाहरू रोकिने अथवा बन्दाबन्दी हुनसक्ने तर देशभर एकैसाथ बन्दाबन्दी नहुने बताए।

त्रसित भएर पूर्ण रुपमा यसअघि जस्तै बन्दाबन्दी हुन्छ भन्ने मनस्थिति कसैले पनि नबनाउन भन्दै उनले अहिले पनि दुई दर्जन भन्दा बढी स्थानीय तहहरूमा बन्दाबन्दी गरिएको उल्लेख गरे। साथै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै बन्दाबन्दी हुने उनको भनाइ थियो।

काठमाडौं उपत्यका भित्रको बढ्दो संक्रमण जोखिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखिम भएको हुनाले केही कदमहरू चाल्न शुरु गरिएको जानकारी मन्त्री खतिवडाले दिए।उनले जनजीवनमा अप्ठेरो परे पनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न समेत आग्रह गरे।