Jagaran Nepal बिहिबार, साउन २२, २०७७

खप्तड पर्यटकिय क्षेत्रमा पर्ने त्रिवेणी मन्दिरले विगतका बर्ष देखि पर्यटन क्षेत्र र धर्मलाई जोड्दै आएको छ । खप्तड पर्यटन क्षेत्रमा जाने पर्यटकहरुले नछुटाई हेनुपर्ने एक धार्मिक पर्यटकीय पवित्र तीर्थस्थल हो । खप्तडको बिचमा अवस्थित यो मन्दिरको दायाँबाँया दुबै तिरबाट नदि बगेका छन् । यसलाई प्राचीनकालदेखि नै धार्मिक मन्दिरका रुपमा पुजिँदै आइएको छ ।वरिपरी मैदानै मैदानको बिचमा अवस्थित रहेको त्रिवेणी मन्दिर नेपालमा रहेका तीर्थस्थलहरु मध्ये एक हो । यहाँ बर्षेनी जेष्ठ शुक्ल नवमीका दिन गंगादशहरा मेला लाग्ने गर्दछ र हजारौँ दर्सनार्थि तीर्थालु भक्तजन र पर्यटकहरुको घुईचो लाग्ने गर्दछ ।

खप्तड पर्यटन क्षेत्रको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिरले पर्यटन तथा धर्मीक क्षेत्र दुवैलाई जोडेको छ । खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ । पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो ।त्यस क्षेत्रमा त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेकाले मेलामा स्थानियहरुको बढी सहभागिता हुने गरेको छ । त्यहाँ नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीधाम छन् । त्रिवेणी घाटमा नुहाए पाप पखालिन्छ ।

त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ । सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास गरिन्छ । त्यस्तै युधिष्ठिर स्वर्ग जाँदा खप्तड हुँदै गएका थिए भनिन्छ । यो मन्दिरमा धार्मिक आस्था राख्ने श्रदालु भक्तजनहरु र अवलोकन गर्ने उद्धेश्य बोकी आएका दुवै थरी पर्यटक घुम्न आउने गर्दछने ।पर्यटन र धार्मिक गन्तव्यका रुपमा रहेको मन्दिरमा वर्षैनी लाग्ने मेलामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीहरु आउने गर्दछन् । गंगादशहराका दिन लाग्ने मेलामा अछाम, डोटी, बझाङ्ग र बाजुराका मानिसहरु आई रात भर देउडा तथा न्याउले खेल लगाई रातभर रमाईलो गर्ने गर्दछन् ।

‘प्राकृतिक दृष्टिकोणले अती मनोरम दृश्यहरुको मज्जा लिन सकिने र वरिपरी हजारौँ रङ्गीबिरङ्गी फूलहरुको विचमा रहेको यो मन्दिरमा दर्शन गरेपछि आफूले चिताएको पुग्ने धार्मिक विश्वासले पनि मानिसहरू यहाँ आउने गरेको’ खप्तड पर्यटन बोर्डका कार्यकारी निर्देश यमराज कुवर बताउँछन् । यहाँ हेर्न आउने पर्यटक तथा श्रदालु भक्तजनहरुको लागि बास बस्नका लागि एक भवनको निर्माण गरिएको छ ।खप्तड पर्यटन क्षेत्र यहाँको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिर र खप्तड पर्यटन क्षेत्रको विकास र संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिई सँगसँगै विकास गरेर लैजानु पर्ने बझाङ्गबाट खप्तड पर्यटन बोर्डमा प्रतिनिधित्व गरिरहेका बोर्ड सदस्य डबल बहादुर बोगटीको भनाई छ । खप्तडको शोभा बढाउनमा त्रिवेणी मन्दिरको पनि एक महत्वपूर्ण भुमिका खेलेको छ ।

खप्तड बाबाले तपस्या गरेकोले पनि प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रुपमा पवित्र मानिन्छ । बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो । खप्तड पुगेर हेर्नै पर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो । त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्। उहाँले योग र ध्यान गर्नुभयो र किताबहरु लेख्नुभयो ।उहाँले धर्म्विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायत पुस्तक लेख्नुभएको छ । यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु पाईन्छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज प्रदेश नम्बर सात का ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाहरुको संगम स्थलमा अवस्थित छ । खप्तडको क्षेत्रफल २२५ बर्ग कि.मी. छ । यो समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्मको उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दा पनि बढी चराचुरुंगीहरु पाईन्छन् ।खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघ बुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल(दह) रहेका छन् ।धार्मिक आस्था तथा पर्यटकीय क्षेत्र आकर्षणलाई जोगाई राख्न र अझ बढी पर्यटक भित्र्याउन यसको संरक्षणमा स्थानीयवासीका साथै राज्यका सम्पूर्ण सम्बन्धित निकायहरुले अहम भुमिका खेल्न तिर लाग्नु आवश्यक छ ।