Jagaran Nepal बिहिबार, साउन २२, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)का अनुसार प्रचण्डको निजी निवासको बाहिरी घेराको सुरक्षामा खटिएका ६ जनालाई कोरोना संक्रमण देखिएको हो ।

केही दिन अगाडि अध्यक्ष प्रचण्डसहित उनको परिवारका सदस्य तथा सुरक्षाका लागि खटिएका सबै सुरक्षाकर्मीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

परीक्षणका क्रममा ६ जना सुरक्षाकर्मीलाई कोरोना देखिएको हो ।

नेकपा अध्यक्ष प्रचण्डको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन छन् । दुवै संगठनका प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा प्रचण्डको सुरक्षामा सुरक्षाकर्मी खटाइएको छ ।

तर, कोरोना संक्रमण देखिएका सुरक्षाकर्मी कुन संगठन र दर्जाका हुन् भन्ने विषय भने खुलेको छैन ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । तर, सभामुख सापकोटाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।