Jagaran Nepal बिहिबार, साउन २२, २०७७

काठमाडौं । नेपालमा मन्त्री पनि कोरोना संक्रमित भएका छन् । प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना सक्रमण पुष्टि भएको खुलेको हो ।

बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उहाँको रिपोर्ट पोजेटिभ आएको हो । साथै, उहाँले आफूमा संक्रमण पुष्टि भएपनि डराउन पर्ने आवश्यकता नरहेको स्पष्ट पार्नुभएको छ । मन्त्री यादवले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिल पनि गर्नुभएको छ ।

उहाँले अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बस्नु भएको छ । त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि बुधवार बेलुका रिपोर्ट आएसँगै कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ । प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म प्रदेश नम्बर २ मा कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।